Techie IT
२०८२ वैशाख ११, बिहीबार

अन्तर्राष्ट्रिय

युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’– ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको आगामी युक्रेन भ्रमणलाई लिएर गरिएको टिप्पणीमा युक्रेन "कुनै दिन रुसी हुनसक्छ" भन्ने विचार व्यक्त गरेका छन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले युक्रेन–रुस द्वन्द्वबारे विचार राख्दै भने, "उनीहरूले सम्झौता गर्न सक्छन्, नगर्न पनि सक्छन्। उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन् ।"

ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोगको प्रतिफलस्वरूप दुर्लभ खनिजहरूको व्यापार प्रस्ताव गर्नुपर्ने आवश्यकता रहेको बताउँदै भने, “हामीसँग त्यहाँ ठूलो रकम लगानी भएको छ, र म भन्छु कि मलाई पाँच खर्ब डलर बराबरको खनिज फिर्ता चाहिन्छ ।”

ट्रम्पले द्वन्द्वको समाधान खोज्न विशेष दूत किथ केलोगलाई फेब्रुअरी २० मा युक्रेन पठाउने पुष्टि गर्नुभएको छ। केलोगलाई लडाइँ रोक्न प्रस्ताव तयार गर्न जिम्मेवारी दिइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको ‘साइडलाइन’ मा भान्ससँग भेट्ने बताइएको छ ।


जेलेन्स्कीले युक्रेनका लागि "वास्तविक शान्ति र प्रभावकारी सुरक्षा ग्यारेन्टी" को माग गर्दै सामाजिक सञ्जालमा भिडियो सम्बोधन दिनुभएको छ । "हाम्रो स्रोतहरूको दिगोपन र जनताको सुरक्षा हाम्रो प्राथमिकता हो," उनले भने ।

तर, युक्रेन र रुसबीच प्रत्यक्ष वार्ताको सम्भावना कम देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका क्षेत्रहरू फिर्ता गर्ने माग गर्दै वार्तामा पुनः प्रवेशको संकेत दिएको छैन ।


म्युनिख सुरक्षा सम्मेलनका आयोजकले जेलेन्स्कीको सहभागिताको पुष्टि गरेका छन्। अमेरिकी प्रतिनिधिमण्डलमा विदेशमन्त्री मार्को रुबियो, विशेष दूत केलोग र उपराष्ट्रपति भान्स सामेल हुने बताइएको छ ।

डोनेट्स्क क्षेत्रमा जारी युद्धको पृष्ठभूमिमा हुने यो सम्मेलनले युक्रेन संकटको कूटनीतिक समाधान खोज्ने प्रयासलाई थप गति दिन सक्ने अनुमान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट