झापा शिवसताक्षी र अर्जुनधारामा दुई दिनमा दुईको हत्या
झापा: शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनभित्र दुई जनाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, शुक्रबार र शनिबार राति भएका यी घटनाहरूमा एक महिलाको छुरा प्रहार गरी हत्या गरिएको छ भने एक पुरुषको आफ्नै दाजुले मादक पदार्थ सेवन गरी हत्या गरेका छन्।
अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका-१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या भएको हो। लाहोरको हत्या आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्। लाहोरलाई बारम्बार छुरा प्रहार गरी गम्भीर घाइते बनाइए पछि विर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
यसैगरी, शिवसताक्षी नगरपालिका-८ शितलचोकमा शुक्रबार राति रामप्रसाद सिटौलाको हत्या भएको छ। प्रहरीका अनुसार, रामप्रसादको आफ्नै दाजु नारायण सिटौलाले मादक पदार्थ सेवनपश्चात दाउराले हानेर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार, आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
#Jhapa
तपाईको प्रतिक्रिया दिनुहोस