बागलुङको पत्रकारितामा एक दशकदेखि सक्रिय बुढामगर पुरस्कृत

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार कोष’ बाट राष्ट्रिय समाचार समिति (रासस)का स्थानीय समाचारदाता डम्मर बुढामगर पुरस्कृत भएकी छन् ।
आज लेखनवृद्धि कोष घोषणा समारोहमा गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापाले राससकर्मी बुढामगरलाई नगद रु पाँच हजार र सम्मानपत्रसहित पुरस्कृत गरेकी हुन् । विसं २०८० मा स्थापित उक्त पुरस्कार कोषबाट पहिलो पटक बुढामगर सम्मानित हुनुभएको छ ।
पत्रकार महासङ्घ बागलुङका साधारण सदस्य रहेकी विकास पौडेलको कोरोना सङ्क्रमणका कारण मृत्युभएपछि उनको परिवारले महासङ्घमा पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो ।
एक दशकदेखि बागलुङको पत्रकारितामा सक्रिय बुढामगर विसं २०७९ देखि राससमा ढोरपाटनबाट स्थानीय समाचारदाताका रूपमा कार्यरत छिन् । बुढामगर पत्रकार महासङ्घ बागलुङका सह–सचिव समेत रहेकी छन् ।
त्यस्तै पत्रकार मित्रलाल खरेल र सिता खरेलद्वारा स्थापित ‘टिका धन खोज पत्रकारिता पुरस्कार–२०८१’बाट गोरखापत्रकर्मी पत्रकार रामकृष्ण बोहोरा पुरस्कृत भएकी छन् ।
विसं २०७७ मा पत्रकार मित्र खरेलका आमा धनकलि खरेल र बुबा टिकाराम खरेलको नाममा स्थापित सो पुरस्कार दोस्रो पटक बोहोरालाई प्रदान गरिएको हो । बोहोरा २२ वर्षदेखि पत्रकारिता पेसामा सक्रिय छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस