Techie IT
२०८१ माघ २६, शनिबार

LISA मूल्याङ्कनमा उत्कृष्ट बन्यो दुर्गाथली गाउँपालिका


बझाङ्गको दुर्गाथली गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (Local Government Institutional Capacity Self-Assessment - LISA) मा उत्कृष्ट प्रदर्शन गर्दै ७१.२५ प्रतिशत अंक प्राप्त गरेको छ। यो उपलब्धिले दुर्गाथली गाउँपालिकालाई जिल्लाकै अग्रणी स्थानीय तहका रूपमा चिनाएको छ।

LISA स्थानीय तहहरूको सेवा प्रवाह, सुशासन, प्रशासनिक दक्षता र समग्र संस्थागत सुदृढीकरणको मापन गर्ने एक महत्वपूर्ण उपकरण हो। यो प्रणालीले स्थानीय तहहरूलाई आत्ममूल्याङ्कन गर्दै सुधारका उपाय पहिचान गर्न सहयोग पुर्‍याउँछ ।

दुर्गाथली गाउँपालिकाले प्राप्त गरेको उत्कृष्ट अंकले सेवा प्रवाहमा नागरिकमैत्री शासन प्रणाली अपनाएको पुष्टि गर्छ । यसले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सेवाहरूको क्षेत्रमा पालिकाको प्रतिबद्धता झल्काएको छ। जनताप्रति जवाफदेहीता र पारदर्शितामा ध्यान दिनु पनि यस सफलता प्राप्तिको मुख्य आधार भएको जनाइएको छ ।

दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले यो उपलब्धिलाई समग्र पालिकावासीको सफलता भएको बताएका छन् । उनले भने, “हाम्रो प्रमुख प्राथमिकता सेवा प्रवाहलाई सुधार गर्दै जनताको जीवनस्तर उकास्नु हो। यो नतिजाले हामीलाई अझै राम्रो गर्न प्रेरणा दिएको छ।”

LISA को महत्त्व
LISA मूल्याङ्कन सामान्य रूपमा स्थानीय तहहरूले जनतालाई प्रदान गरिरहेको सेवा र सुशासनको स्तर मापन गर्न प्रयोग गरिन्छ । यसले स्थानीय तहलाई आफ्ना कमजोर पक्षहरूको पहिचान गर्न र सुधारात्मक कदम चाल्न सक्षम बनाउँछ। दुर्गाथली गाउँपालिकाले आत्ममूल्याङ्कनका आधारमा सेवा सुधारमा गरेको प्रयास यस उपलब्धिको आधार भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

पालिका प्रशासनले आगामी दिनमा सुशासनलाई थप सुदृढ गर्दै सेवाको दायरालाई विस्तार गर्ने योजना रहेको जनाएको छ। प्रशासनिक प्रक्रियालाई डिजिटल माध्यमबाट थप पारदर्शी बनाउन पहल गरिने र नागरिकको प्रत्यक्ष सहभागिता बढाइने जनाइएको छ।

पालिकाका नागरिकहरूले पनि यो उपलब्धिलाई सकारात्मक रूपमा लिएका छन् । एक स्थानीय प्राचार्य शिक्षक धुर्वराज थापाले भने, “हाम्रो गाउँपालिकाले सेवा प्रवाहमा देखाएको सुधारले जनतालाई प्रत्यक्ष फाइदा पुर्याएको छ। अब अझै थप सुधारको अपेक्षा गरेका छौं।”

दुर्गाथली गाउँपालिकाको यो सफलता अन्य स्थानीय तहहरूका लागि प्रेरणादायी भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट