सरकार लगानीमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध: उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासमा होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासमा होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
क्यापिटल नेपाल बिजनेस म्यागेजिनद्वारा आयोजित होटेलियर समिटको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधारको विकास र विस्तार, र स्थानीय उत्पादनलाई पर्यटन उत्पादनको रूपमा प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिए।
मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै, "समस्याको पहिचान, समन्वय, र सहकार्य गरेर चुनौतीलाई सम्भावनामा बदल्न आवश्यक छ," भने।
उद्योगमन्त्री भण्डारीले पर्यटन क्षेत्रमा लगानी बढाउन बैंक र वित्तीय संस्थालाई आह्वान गर्दै, "सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता हो," भने।
मन्त्री भण्डारीले नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको योगदान बढाउन अन्तर्राष्ट्रिय उडानहरू र विमानस्थलको स्तरोन्नति गर्नुपर्ने कुरामा जोड दिए। "पर्यटकीय पूर्वाधारको विकास र विस्तार, र स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गर्नुपर्नेछ," उनले भने।
"समृद्ध नेपाल, सुखी नेपाली" को लक्ष्यलाई पूरा गर्न सरकार पर्यटन व्यवसायीसँग सहकार्य गर्न तयार र प्रतिबद्ध रहेको उनले बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। तारे होटलहरूको संख्या वृद्धि हुँदा पर्यटन पूर्वाधारको विकास र प्रवर्धनमा योगदान मिलिरहेको उनले बताए।
सांसद र उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अन्तर्राष्ट्रिय चेन होटलको आगमनले पर्यटनमा विश्वको ध्यान आकर्षित गरेको धारणा राखे।
तपाईको प्रतिक्रिया दिनुहोस