सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो
काठमाडौं । काठमाडौंको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ । टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचनामा डोजर लगाएको हो ।
टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि आज बिहानै डोजर लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए । संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।
टोखाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘करिडोर’ निर्माणको कामलाई अगाडि बढाइसकेको छ । नगरपालिकाले नयाँ बसपार्क क्षेत्रको विष्णुमती खोला वरपर सार्वजनिक स्थानमा राखिएका व्यापारीका टहराहरू पनि हटाई सार्वजनिक जग्गाको संरक्षण कार्य सुरू गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस