संसद् छलेर टिकटकरसँग प्रधानमन्त्री ओली, भने– मीस पवि र अंशु वर्मासँग कुराकानी भयो
![](https://www.raibarpress.com/uploads/medias/476381921_1170487314436968_2815556330578351491_n.jpg)
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली संसद् छलेर टिकटकरसँग भेट गरेका छन् । उनले हिजो (बिहीबार) साँझ टिकटकरद्वय मीस पवि र अंशु वार्मासँग भेट गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
ओलीले आफू दिउँसो आन्तरिक काममा व्यस्त भएको बताएका छन् । आफू व्यस्त भएको उनले जानकारी गराएको समयमा संसद् अधिवेशन चलिरहेको थियो ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष सम्बोधन थियो । उनले सम्बोकन गर्ने कार्यसूचीबारे संसद्मा बिहानै जानकारी गराइएको थियो ।
तर, ओलीले थाहा नपाएझैँ संसद्मा उपस्थित भएनन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ ।’
‘सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो,’ उनले लेखेका छन्, ‘उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’
यद्यपि यसअघि एमाले–माओवादी नेतृत्वको सरकारको पालामा केपी शर्मा ओलीले टिकटक बन्द गर्न दबाब दिएपछि त्यतिबेलाका प्रधानमन्त्री प्रचण्डले बन्द गराएका थिए ।
तर, पानीमाथि ओभानो बन्न ओलीले प्रचण्डलाई टिकटक प्रतिबन्दको दोष दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस