नेपाल पुनः नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ ।
बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो ।
१४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन् । फेबे मोल्केनबोयर पनि अर्धसतकबाट २ रनले नै चुकिन् ।
कलिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन् । मोल्केनबोयरले ४९ बलमा ४ चौकाको मद्दतमा ४८ रन बनाइन् ।
७ जना बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
पूजाले नटआउट ६२ रन बनाइन् । ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन् । कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन् । उनले एक छक्का प्रहार गरिन् ।
नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए । त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन् ।
इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन् । रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन् ।
नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे ।
अब अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ । नेपाल जितविहिन भएसँगै फाइनलमा पुग्न पनि असफल भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस