माओवादी पूर्वविद्यार्थीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने शक्तिको प्रयास असफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतको प्रयास असफल भएको छ । अखिल (क्रान्तिकारी)का पूर्वपदाधिकारीलाई पार्टीको वैकल्पिक सदस्य बनाउने प्रयास असफल भएको हो ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकमा उपमहासचिव बस्नेतले पूर्वविद्यार्थी पदाधिकारीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव पेस गरेका थिए । तर, बैठकमा सहभागी बहुमत पदाधिकारीले उनको प्रस्ताव अस्वीकार गरेको माओवादीका एक पदाधिकारीले रैबार प्रेसलाई बताए ।
ती पदाधिकारीका अनुसार उपमहासचिव बस्नेत नेतृत्वको कार्यदलले ३२ वर्षे उमेर हदबन्दीका कारण अखिल (क्रान्तिकारी)बाट अवकाश भएका पूर्वविद्यार्थी पदाधिकारीलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा अर्का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लगायतका अन्य पदाधिकारीले ठाडै अस्वीकार गरेको ती पदाधिरीको भनाइ छ ।
गत पुस १६ गते अखिल (क्रान्तिकारी)ले ३२ वर्षे उमेरहद कायम राख्ने वा हटाउने भन्नेमा निर्वाचन नै गरेको थियो । उक्त निर्वाचनमा उमेरहदका लागि बहुमत परेपछि ३२ नाघेका विद्यार्थी नेताहरू अवकाशमा भएका छन् ।
उनीहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे पार्टीमा पटकपटक छलफल भएपनि निष्कर्ष निस्केको थिएन । तथापि सोमबारको पार्टी पदाधिकारी बैठकमा बस्नेतले पूर्वविद्यार्थी पदाधिकारीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव पेस गरेका थिए ।
यसका लागि यसअघि नै उपमहासचिव बस्नेतको नेतृत्वमा हिमाल शर्मा र अखिल (क्रान्तिकारी)की पूर्वअध्यक्ष पञ्चा सिंहको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
कार्यदलले पूर्वपदाधिकारी र विद्यार्थी नेताहरूलाई वैकल्पिक केन्द्रीय सदस्य बनाएर पार्टीमा क्रियाशील गराउनुपर्ने सुझाव दिएको थियो । तर, माओवादी केन्द्रको पदाधिकारी बैठकमा यो विषयमा सहमति जुटेन ।
यहीँ माघ १२ गते भएको अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय महाधिवेशनले ३२ वर्षमुनिका विजयप्रकाश सापकोटासहितको टिम निर्वाचित भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस