एआईको प्रयोगबाट बाल यौन दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

यौन दुव्र्यवहारका तस्बिरहरू बनाउनको लागि प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणहरूको विरोधमा बेलायत सरकारले शनिबार नयाँ कानूनी कदम घोषणा गरेको छ। ‘एआईको दुरुपयोग गरेर बाल यौन दुव्र्यवहारका तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वको पहिलो मुलुक बनेको छ।
बाल यौन तस्बिर बनाउनका लागि बनाइएका एआई उपकरणहरूको संकलन, सिर्जना, वा वितरण गर्नुलाई सरकारले गैरकानुनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरले जानकारी दिएका छन् ।
उनका अनुसार, एआई प्रयोग गरेर बच्चाहरूलाई यौन दुव्र्यवहार गर्न सिकाउने ‘पीडोफाइल म्यानुअल’हरूको प्रचार पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्मको जेल सजाय हुनसक्ने छ ।
गृहमन्त्री कूपरले आइतबार स्काई न्यूजसँग भने, “अनलाइन बाल यौन दुव्र्यवहारको सामग्री तीव्र गतिमा बढ्दै गएको छ। किशोरकिशोरीहरूलाई एआईको माध्यमबाट यौनिक गतिविधिहरू सिकाउने प्रयासहरू पनि भइरहेका छन्। यो अत्यन्त चिन्ताजनक विषय हो। एआईले यसलाई थप घातक बनाइरहेको छ।”
उनले थपे, “एआई उपकरणहरूले अपराधीहरूलाई झूठा छविहरू सिर्जना गर्न र किशोरकिशोरीलाई धोका दिएर थप दुव्र्यवहारमा फसाउन सजिलो बनाइरहेका छन्।”
“यो सबैभन्दा घृणित अपराध हो,” उनले भने। “नयाँ कानूनी प्रावधानले बाल दुव्र्यवहारका लागि प्रयोग भइरहेको केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ,” कूपरले बताए।
उनले भने, “अन्य देशहरूले अझै यो कदम उठाएका छैनन्, तर मेरा विचारमा अन्य सबै मुलुकहरूले यसलाई पछ्याउनेछन्।”
बेलायत सरकारले भनेको छ कि एआई उपकरणहरूले बालबालिकाका वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुव्र्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको छ।
नयाँ कानूनले ‘पीडोफाइल’हरूको लागि डिजाइन गरिएका वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ।
कूपरले आइतबार बीबीसीसँग भने, “हालैको अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिका कुनै न कुनै प्रकारको दुव्र्यवहारको शिकार हुने गरेको पत्ता लगाएको छ।”
यी कानूनी उपायहरू संसदमा ‘क्राइम एण्ड पोलिसिङ बिल’को एक भागको रूपमा प्रस्तुत गरिनेछन् ।
इन्टरनेट वाच फाउन्डेसन (आईडब्लुएफ) ले यौन दुव्र्यवहारका घटनामा बालबालिकाको एआई तस्बिर उत्पादन भइरहेको भन्दै चेतावनी दिएको छ।
सन् २०२४ मा, ३० दिनको अवधिमा आईडब्ल्यूएफका विश्लेषकहरूले एउटै डार्क वेब साइटमा तीन हजार ५१२ एआई बाल यौन दुव्र्यवहार छविहरू पहिचान गरेका थिए ।
सबैभन्दा गम्भीर श्रेणीका तस्बिरहरूको सङ्ख्या पनि एक वर्षमा १० प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस