संस्कृत विश्वविद्यालयमा तीन महिना देखिको तालाबन्दी, खोल्न कसैको चासो छैन
नेपाल संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि लागेको तालाबन्दी खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित आह्वान गरेका छन्। तीन महिनादेखि तालाबन्दीका कारण विश्वविद्यालयको केन्द्रीय कार्यालय र आंगिक निकायमा शैक्षिक, आर्थिक, प्राज्ञिक, र प्रशासनिक काम प्रभावित भएको भन्दै उनले सम्बद्ध पक्षलाई समस्या समाधानमा संवेदनशील हुन आग्रह गरेका हुन्।
विद्यार्थी संगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखी विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका छन्। खतिवडाले आन्दोलनरत पक्षसँग संवाद गरी समस्याको शीघ्र समाधान गर्न आग्रह गरेका छन्। विश्वविद्यालयले प्राचार्य योगराज शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। उनले समितिसँगको संवादलाई चाँडो निष्कर्षमा पुर्याउन पहल गर्नुपर्ने बताएका छन्।
तालाबन्दीका कारण विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापनमा बाधा पुगेको पनि खतिवडाले उल्लेख गरेका छन्। मन्त्रिपरिषद्बाट गठित समितिले असार २० मा यो जग्गाको व्यवस्थापन गर्न थालेको भए पनि तालाबन्दीका कारण समितिको काम ठप्प भएको छ।
खतिवडाले विश्वविद्यालयका विद्यार्थीका मागप्रति संवेदनशील रहेको र आर्थिक क्षमताअनुसार माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आयुर्वेद स्नातक बीएएमएस तहको शिक्षणमा देखिएका समस्याहरू समाधान गर्न पनि विश्वविद्यालय सकारात्मक पहल गर्दै अघि बढ्ने उनले बताएका छन्।
उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी हाल खतिवडाले सम्हालेका छन्, जो यसअघि विश्वविद्यालयका शिक्षाध्यक्ष थिए।
तपाईको प्रतिक्रिया दिनुहोस