डिपसिकको सफलताले अमेरिकी चिप प्रतिबन्धलाई चुनौती

अमेरिकी चिप निर्यात नियन्त्रणले अनजानमै पूर्वी चीनको स्टार्टअप कम्पनी डिपसिकलाई एआई च्याटबटमा ठूलो सफलता हासिल गर्न मद्दत गरेको छ। यसले एआई क्षेत्रमा विश्वव्यापी प्रभुत्व कायम राख्न वासिङ्टन असफल हुनसक्छ भन्ने डर बढाएको छ ।
हाङझोउस्थित डिपसिक कम्पनीको आर१ एआई च्याटबटले लगानीकर्ता र प्रविधि विशेषज्ञहरूलाई चकित पारेको छ। कम्पनीले अमेरिकी प्रतिस्पर्धीहरूसँग तुलनात्मक रूपमा कम लागतमा एआई समाधान प्रस्तुत गर्न सफल भएको छ।
यो सफलता अमेरिकी निर्यात नियन्त्रणका कारण उच्च प्रविधीय चिपहरूको पहुँचमा रहेका कठोर प्रतिबन्धहरूका बाबजुद प्राप्त भएको हो। डिपसिकका संस्थापक लियाङ वेनफेङले उच्चस्तरीय चिपहरूको अभावले काममा चुनौतीहरू थपेको स्वीकार गरे। तर विश्लेषकहरूका अनुसार प्रतिबन्धले कम्पनीलाई अझ कुशल र लागत-कम प्रविधि विकास गर्न प्रेरित गरेको छ।
“उन्नत चिपहरूको अभावमा डिपसिकले बढी दक्ष मोडेलहरू विकास गर्न बाध्य भएको हो,” जर्ज वासिङ्टन विश्वविद्यालयका जेफ्री डिङले बताएका छन् ।
कम्पनीले आफ्नो ठूलो लर्निङ मोडेल चलाउन कम–उन्नत एच८०० चिपहरूको प्रयोग गरेको बताएको छ, जुन २०२३ सम्म चीनलाई निर्यात गर्न अनुमति दिइएको थियो।
डिपसिकको सफलता केही विशेषज्ञहरूका लागि चिन्ताको विषय बनेको छ । उद्यम पूँजीपति मार्क एन्ड्रिसनले यसलाई ‘स्पुतनिक क्षण’ को संज्ञा दिएका छन्।
स्पुतनिक संयुक्त राज्य अमेरिका र सोभियत संघबीचको प्रविधि अन्तरलाई उजागर गर्ने पहिलो उपग्रह प्रक्षेपणसँग सम्बन्धित ऐतिहासिक घटना हो।
डिपसिकको आर.१ मोडेल मात्र ५६ लाख डलरको लागतमा निर्माण भएको दाबी गरिएको छ, जुन विश्वभरिका ठूला प्रविधि कम्पनीहरूको खर्चभन्दा धेरै कम हो ।
विशेषज्ञहरूले भने सावधानी अपनाउन आग्रह गर्दै यसको लागत कटौती उपाय नवीन नहुन पनि सक्ने बताएका छन्।
“डिपसिकले देखाएको दक्षता ऐतिहासिक प्रवृत्तिभन्दा बाहिर छैन,” आर१ च्याटबटको सन्दर्भमा आर्यान्ड कर्पोरेशनका लेनार्ट हेइमले भने।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिपसिकको सफलतालाई 'सिलिकन भ्यालीका लागि जागरण आह्वान' को रूपमा चित्रित गरेका छन्।
वासिङ्टनले चिप प्रतिबन्ध विस्तार गर्दै एआई क्षेत्रमा चीनको पहुँचलाई सीमित गर्न थप निगरानीको आवश्यकता रहेको बताइएको छ । “यस्तो चुनौतीले अमेरिकालाई आफ्नै एआई उद्योगलाई बलियो बनाउन र चीनसँग प्रतिस्पर्धा गर्न नीतिहरू सुधार गर्न प्रेरित गर्न सक्छ,” विल्सन सेन्टरका विश्लेषक केनेडीले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस