डिपसिकको उदय: अमेरिकी टेक कम्पनीहरूका सेयरमा भारी गिरावट

अमेरिकाको प्रविधि बजारमा हाल चिनियाँ एआई स्टार्टअप कम्पनी ‘डिपसिक’ को चर्चा चुलिएको छ ।
यो च्याटबटले एआई क्षेत्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिँदै लोकप्रियता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टारगेट’ नामक डेटा सेन्टर परियोजनाको घोषणा गरिरहँदा प्रयोगकर्ताहरू भने डिपसिकको ‘आरवान’ नामक च्याटबट डाउनलोड गर्न आकर्षित भएका छन् ।
एप्पलको एप स्टोरमा सबैभन्दा लोकप्रिय नि:शुल्क एप बन्न पुगेको यो ‘डिपसिक’ एप सार्वजनिक भएपछि अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्यमा ब्यापक गिरावट आएएको छ । डिपसिकले ओपेनएआई, गुगल र मेटाका एआई मोडलहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो सेवा निकै सस्तो मूल्यमा उपलब्ध गराउँदैछ ।
चिनियाँ च्याटबटको लोकप्रियतासँगै एनभिडिया, माइक्रोसफ्ट, र मेटाजस्ता ठूला कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ । एनभिडियाको सेयरमा मात्रै १६ प्रतिशत गिरावट देखिएको छ । एआई चिप्स र उन्नत प्रविधिमा चीनमाथि कडाइ गरिरहँदा, डिपसिकको उदयलाई ‘एआईको स्पुतनिक क्षण’ का रूपमा हेरिएको छ।
डिपसिकको सफलता
सन् २०२३ मा हाङझाउ सहरमा स्थापना भएको डिपसिकले कम बजेटमा अत्याधुनिक एआई मोडल निर्माण गरेर सबैलाई चकित बनाएको छ । कम्पनीले ‘डिपसिक-भीथ्री’ नामक ओपन-सोर्स मोडल सार्वजनिक गरेको छ, जसले क्लोज-सोर्स मोडललाई समेत टक्कर दिइरहेको छ । यसका संस्थापक लियाङ वेनफेङले चीनमा चिप निर्यातमा कडाइ हुनु अघि नै एनभिडियाको चिप खरिद गरी आफ्नो परियोजना अघि बढाएका थिए ।
चीनमाथि सेमिकन्डक्टर चिप निर्यातमा अमेरिकाले लगाएको प्रतिबन्ध प्रभावकारी नदेखिएको विश्लेषण भइरहँदा, डिपसिकले एनभिडियाका चिपहरू प्रयोग गरेर आफ्नो च्याटबट तयार पारेको छ। यस विषयमा विवाद भइरहे पनि यो घटनाले चीनको प्राविधिक क्षमतालाई पुष्टि गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस