Techie IT
२०८२ वैशाख ८, सोमबार

ग्रामीण विकासका लागि कोरियाले एक अर्बको सहयोग प्रदान गरेको


कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (एक अर्ब ७ करोड नेपाली रुपैयाँ) प्रदान गर्ने निर्णय गरेको छ।

मङ्गलबार कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) को लागि उक्त रकम उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हो। कोरियाका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र नेपालका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे।

कोइकाको प्रेस विज्ञप्ति अनुसार, परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तहमा फैलिनेछ। यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादन क्षमता वृद्धि, बजारसँगको सम्बन्ध स्थापना र मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने छ। साथै, पर्यावरणीय पर्यटनलाई प्रोत्साहन गर्दै दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने छ।

मोह्युन कोङले यस अवसरमा परियोजनाले नेपालका ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने बताउँदै, नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिए। कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६-२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो। यस परियोजनाले नेपालका अन्य भागमा पनि यस्ता परियोजनाहरूको आवश्यकता देखिएको भन्दै दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो।

कार्यक्रममा नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसर पनि सम्झना गरियो। कोरिया सरकारले सन् १९९१ यता कोइकामार्फत नेपाललाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आइरहेको छ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट