अछाममा २ किशोरीको शंकास्पद मृत्यु, २ जना पक्राउ
काठमाडौं । अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन् ।
आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।
ढकारी–१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्का मृत फेला परेका थिए ।
टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुवैको शव २० मिटर आसपास फेला परेको थियो । उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए ।
पक्राउ परेका दुवै १८ वर्षभन्दा मुनि रहेकाले पहिचान खुलाइएको छैन । किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो ।
बाख्रा चराउन जंगल गएका दुई किशोरी घर नफर्केपछि खोजीमा निस्किँदा शव फेला पारेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको अछाम जिल्ला प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस