अखिल क्रान्तिकारी उम्मेदवारको नामावली विवादित, उम्मेदवारी महासचिवमा, नाम आयो उपाध्यक्षमा
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन प्रक्रिया अहिले विवादको केन्द्रमा छ । महासचिव पदमा उम्मेदवारी दिएका रोशन खड्काको नाम उपाध्यक्षको पदमा राखेर नामावली सार्वजनिक भएपछि विद्यार्थी क्रान्तिकारीका नेताहरूले निर्वाचन आयोगमाथि धाँधलीको आरोप लगाएका छन् ।
भोलि शनिबार हुने निर्वाचनका लागि एउटा पदमा मनोनयन दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन हुँदा अर्कै पदमा नाम सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता माघ ८ गतेदेखि अनलाइनमार्फत सुरू भएको थियो । महासचिव पदमा उम्मेदवारी दिएका रोशन खड्काको नाम उपाध्यक्षको पदमा राखिएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। यसमध्ये प्रमुख उम्मेदवारहरूमा प्रचण्ड पक्ष निकट विजयप्रकाश शर्मा सापकोटा, जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदीन पौडेल, नारायणकाजी श्रेष्ठ निकट उपदेशकुमार यादव, देव गुरुङ निकट विश्वमणि थापा र कृष्णबहादुर महरा निकट योगन्द्रबहादुर बुढा रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस