रविको बहस रूपन्देही अदालतमा, प्रधानमन्त्री ओली उतै जाने तयारी, प्रचण्ड दाङमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रूपन्देही जाने भएका छन् । उनी हेलिकोप्टरमार्फत रूपन्देही जान लागेका हुन् ।
प्रधानमन्त्री शुक्रबार पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटनका गर्न त्यसतर्फ जाँदैछन् । उनले तिनाउ दोभानमा निर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् ।
त्यसपछि सिद्धबाबा सुरुङ मार्गको ब्रेकथ्रु, बुटवल गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै उनी बुटवल उपमहानगरपालिका–१३ जितगढीमा आयोजित सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।त्यसैगरी शुक्रबार दिनभरजसो पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा व्यस्त हुनेछन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङमा हुनेछन् । प्रचण्ड शुक्रबार लुम्बिनीका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुनेछन् । बिहीबार बाँकेका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्ड शुक्रवार दाङ जिल्लामा पुगेका छन् । प्रचण्डले तुलसीपुरको अरणिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सुप्रिम सहकारी ठगी मुद्दाका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा बहस हुने भएको छ । बिहीबार थुनछेक बहस नसकिएपछि शुक्रबार पुनः बहस हुने भएको हो ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट ७ जना र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
बहस नसकिएकाले शुक्रबार पुनः बहस हुन लागेको हो । रविविरुद्धको मुद्दामा शुक्रबार सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि उनकाका वकिलहरूले बहस गर्नेछन् ।
रविका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।
त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् । बुधबार नै अदालतमा हाजिर भएका लामिछानेलाई इजलासले पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस