Techie IT

तुलसीपुरमा किशोरकिशोरीको हत्या घटना : उच्च अदालतले दोषीलाई क्षतिपूर्ति रकम बढायो


तुलसीपुर, दाङका १४ वर्षे किशोरकिशोरी रोशनी महतरा र शरद आचार्यको मृत्युसँग सम्बन्धित घटनामा उच्च अदालत तुलसीपुरले संलग्न भनिएका चार जनाविरूद्ध क्षतिपूर्ति रकम बढाएको छ। यसअघि जिल्ला अदालतले चारै जना संलग्न घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्कीलाई जिल्ला अदालतले जनही पाँच वर्ष काराबास सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको थियो।

पीडितका परिवारले न्याय माग गर्दै पुनरवलोकनको माग गरेपछि मंगलबार उच्च अदालतले दोषीलाई पाँच वर्षको कारावास सजाय कायम राख्दै क्षतिपूर्ति रकम तीन लाख रूपैयाँ पुर्‍याएको छ। पीडित परिवारलाई प्रत्येक दोषीबाट डेढ लाख रूपैयाँको क्षतिपूर्ति दिनुपर्ने भएको छ, जसअनुसार दुवै परिवारले कुल ६ लाख पाउनेछन्।

२०७९ असोज २७ गते राति जंगली बँदेल मार्न थापिएको विद्युतको धरापमा परेर रोशनी र शरदको मृत्यु भएको थियो।रोशनी र शरदको शव तुलसीपुर– १३ स्थित जनकल्याण सामुदायिक वनमा एकै ठाउँमा पुरेको अवस्थामा २०७९ असोज ३० गते दिउँसो फेला परेको थियो। दोषीहरूले शव लुकाउने प्रयास गरेका थिए।
हाल सजाय भुक्तान गरिरहेका चार जनाले त्यो ठाउँमा बँदेल मार्न भनी असोज २४ गतेदेखि नै नजिकैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप थापेका थिए।

उनीहरूमध्ये अम्मरराज र हरिशचन्द्र पौडल २०७९ असोज २८ गते बिहान साढे ५ बजेतिर बँदेल मार्न थापेको धराप हेर्न गएका थिए। त्यहाँ शरद र रोशनीलाई मृत अवस्थामा देखेपछि उनीहरूले सल्लाह गरी शवहरू झाडीमा लुकाएका थिए। सोही दिन दिउँसो हरिशचन्द्रले शव व्यवस्थापन गर्ने ठाउँ हेरेका थिए र बेलुका नौ बजेतिर चारै जनाले बोरामा शव हालेर एकै ठाउँमा पुरेका थिए।

शव व्यवस्थापनपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोबाइल र चप्पल जंगलको झाडीमा फालेका थिए।

तुलसीपुर– १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्य एकै स्कुलमा पढिरहेका थिए। राति एकअर्कालाई भेट्न निस्केको समयमा विद्युतीय धरापमा परी उनीहरूले ज्यान गुमाएका थिए।

यो घटनामा संलग्न भनिएका मध्ये हरिबहादुर आचार्यलाई सफाइ दिइएको छ, जबकि अन्य चार जना दोषीलाई सजाय सुनाइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट