सामूहिक बलात्कारका दोषी पाँच भारतीयलाई मृत्युदण्ड
भारतको एक अदालतले २०२१ मा किशोरीमाथि सामूहिक बलात्कार र उनका परिवारका सदस्यहरूको विभत्स हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२१ को जनवरीमा सार्वजनिक यातायातको प्रतीक्षामा रहेका ती किशोरी र उनका परिवारलाई पाँच अभियुक्तले लिफ्ट दिने बहानामा मोटरसाइकलमा एकान्त ठाउँमा लगेर सामूहिक बलात्कार गरेका थिए । किशोरीका बुबा र तीन वर्षीया भतिजीले प्रतिरोध गर्न खोजेपछि उनीहरूलाई समेत हत्या गरिएको थियो ।
गाउँलेहरूले अचेत अवस्थामा फेला पारेकी किशोरीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । सरकारी वकिलका अनुसार बलात्कार रोक्न खोज्दा उनका परिवारका सदस्यको हत्या गरिएको थियो ।
अदालतले बलात्कार र हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड सुनाएको छ भने छठौं अभियुक्तलाई हत्या अभियोगमा आजीवन कारावासको सजाय तोकिएको छ ।
भारतमा बलात्कारका घटनाहरू दैनिक ९० को हाराहारीमा हुने तथ्यांकले देखाउँछ । बलात्कार र हत्याका यस्ता घटनाहरूले भारतभर आक्रोश फैलाउने गरेका छन् ।
सन् २०१२ मा दिल्लीको बसमा युवतीमाथि सामूहिक बलात्कार र हत्याको घटना र हालै कोलकातामा एक डाक्टरमाथि भएको आक्रमणजस्ता घटनाले देशमा महिला हिंसाको समस्या बढिरहेको देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस