एमाले नेता ऐन महरविरुद्ध बलात्कार आरोपमा पक्राउ पुर्जी जारी
एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध उच्च अदालत पाटनले बलात्कार आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले बुधबार महरलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन आदेश दिएको हो ।
पीडित रश्मिलाकुमारी धामीले महरद्वारा पटक–पटक यौन शोषणको शिकार भएको दाबी गर्दै उजुरी दर्ता गरेकी थिइन् । धामीले प्रहरी र सरकारी वकिल कार्यालयले उजुरी लिन अस्वीकार गरेपछि अदालतको शरण लिएकी थिइन् ।
पीडितका पक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । पीडितका आमाबाबुले पनि अदालतमा उपस्थित भएर न्यायको याचना गरेका थिए ।
धामीले महरद्वारा यौन शोषणको शिकार भएकी मात्र नभई सत्ताको आडमा उनीमाथि दबाब र मानसिक तनाव सिर्जना गरिएको आरोप लगाउँदै माइतीघर मण्डलामा धर्ना समेत बसेकी थिइन् । महरको दबाब बढ्दै गएपछि धामीले अदालत परिसरमै विष सेवन गर्ने प्रयास गरेकी थिइन् ।
अन्ततः अदालतले दोस्रो मुद्दालाई अघि बढाउँदै महरलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतले यो कदमले पीडितलाई न्याय प्राप्तिको ढोका खोलिदिएको भन्दै पीडितका अधिवक्ताहरूले निर्णयको स्वागत गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस