एमाले सचिवालय बैठक: वामदेवका लागि ढोका बन्द
नेकपा (एमाले)को ४४औं सचिवालय बैठक मङ्गलबार साँझ सम्पन्न भएको थियो । बैठकले पार्टीको आगामी योजना र रणनीतिबारे चार मुख्य निर्णय गरेको थियो । तर, पार्टीका पूर्वनेता वामदेव गौतमलाई पुन: पार्टीमा समावेश गर्ने कि उनी नेतृत्वको राष्ट्रिय एकता अभियानसँग मात्र सहकार्य गर्ने भन्ने विषयमा निर्णय हुन सकेन ।
बैठकका मुख्य निर्णयहरू
वडा केन्द्रित अभियान सञ्चालन:
पार्टीले माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश र जिल्ला कमिटीलाई पूर्ण पार्टी परिचालन गर्दै यस अभियानको योजना बनाउन निर्देशन दिइएको छ ।
प्रदेश कमिटी अनुमोदन:
गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले सिफारिस गरेका प्रदेश कमिटी सदस्यहरूको मनोनयन अनुमोदन गरिएको छ ।
विधान महाधिवेशन घोषणा:
एमालेको विधान महाधिवेशन २०८२ साल भदौ २०–२२ ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिनेछ ।
वामदेव गौतमसँग सहकार्य:
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने निर्णय भएको छ । तर, सहकार्यको स्वरूप प्रष्ट पारिएको छैन । पार्टीमा गौतमलाई भित्र्याउने कि सहकार्यलाई सीमित राख्ने भन्ने विषयमा सचिवालय अनिर्णित देखिन्छ ।
यसअघि गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गरेका थिए । ओलीले उनलाई "दुई मुटु, एक धड्कन भएर काम गर्ने" र पार्टीमा सम्मानजनक स्थान दिने आश्वासन गरेको गौतमले दाबी गरेका थिए । तर, एमालेसँग सहकार्यको प्रक्रियाले गौतम नेतृत्वको अभियान फुटाउने अवस्था सिर्जना गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस