आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती
नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका छन्।

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका छन्।
गृहजिल्ला अछामको साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले पार्टी नेतृत्वलाई 'आफूलाई कारबाही गरेर देखाउन' भनेका छन्। उनले भने, "देश, जनता, र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा छु, र यसले केही व्यक्तिहरूलाई असहज पारिरहेको छ।"
रावलले देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानहरूको बारेमा आफू जानकार रहेको र अडानमा अडिग रहेको दाबी गरे। उनले पार्टीका नेता र कार्यकर्तालाई यस दिशामा निर्देशन पनि दिए।
पार्टी विचारशून्य अवस्थामा पुगेको बताउँदै रावलले पार्टीको विधि, विधान, र सिद्धान्तको पक्षमा आफूले बोलेको कुरा एमालेका नेता र कार्यकर्तालाई ध्यानाकर्षण गराए।
रावलले पार्टीबाट कारबाहीको तयारी भइरहेको हल्लामा भने, "पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ, विधि र विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने विचार राखेको कारण कारबाही गरिन्छ भने, त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु। पार्टीले चुनौतीको सामना गरेपछि त्यसपछि के गर्ने हेर्छौँ।"
नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै रावलले कार्यकर्ताको जनचाहाना र सुझावअनुसार अघि बढ्ने कुरा स्पष्ट गरे।
तपाईको प्रतिक्रिया दिनुहोस