Techie IT
२०८१ चैत्र २०, बुधबार

खोकना: ऐतिहासिक नेवा बस्तीको मौलिकता संरक्षणमा ललितपुर महानगरको पहल


रासस

ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ । विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् ।     
     
ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जनले बताए । मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार खोकनाको नेवा बस्ती आदिमकाल देखिको हो । विशेषगरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ ।    
     
उनले भने, “हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डङ्गोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ, नेवा परम्परा र संस्कृतिको संरक्षण गर्न ललितपुर महानगरपालिका र सरोकारवाला सबैको ध्यान जानुपर्ने जरुरी छ ।”     
     
आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डङ्गोलको भनाइ छ । उनले भने, “मौलिकता र संस्कृति बचाउनका लागि नेवारी संस्कृतिमा प्रयोग हुने बाजाको संरक्षण गर्दै आएका छौँ, बाजा संरक्षणका लागि ललितपुरका वडा र महानगरपालिकाले सहयोग गर्नुपर्ने हो ।”     
     
नेवारी संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ गतेको बाढीको समयमा भत्केको स्थानीयले बताए । उनका अनुसार, ऐतिहासिक मौलिक घर भत्किएपछि वाद्यवादनका सामग्री अर्को साथीको घरमा सारिएको छ । मौलिकता संरक्षण गर्नेहरूका लागि सरोकारवालाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।     
     
खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डङ्गोलको नेवा शैलीको मौलिक घर निकै जीर्ण अवस्थामा छ । मदनकृष्ण डङ्गोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुलीबत्ती बलेको घरका रुपमा चिनिन्छ । नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ ।     
     
खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रुपमा स्थापना गर्नुभएको थियो । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्र्खाइमा रहेको छ । ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मञ्जुरीमा खोकना सङ्ग्रहालयका रुपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ ।     
     
खोकनाको मौलिकता बचाउनका लागि चारवटा ऐतिहासिक मिलको पुनःनिर्माण गरेको वडाध्यक्ष महर्जन बताउनुभयो । उनका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ । खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी ढुङ्गेधारा मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनःनिर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उनको भनाइ छ ।     
     
 उनले भने “भूकम्पपछि मौलिक घर भत्केपछि धेरैले नयाँ घर निर्माण गरे, हामीले मौलिकता बचाउनका लागि नयाँ घर पनि नेवा शैलीमा निर्माण गर्न लगाएका छौँ, नेवा शैलीमा निर्माण भएका घरहमा सटर राखिएको छैन, काठ प्रयोग गरिएको छ, मौलिकता बचाउनका लागि स्थानीयसँग बसेर छलफल गरेका छौँ, त्यस्तै खोकनाको मुख्य नेवा बस्तीको घरजग्गा किनबेच हुँदैन, संस्कृति बचाउनका लागि हामीले भाषासहित बालबालिकाहरूलाई नेवार परम्पराअनुसार खेलिने खेल खेलाइरहेका छौँ ।”   



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट