अखिल (क्रान्तिकारी) सचिवमा चेतराज जोशीको दाबी: शिक्षा र संगठनमा रूपान्तरणको अठोट
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का नेता तथा रामपुर कृषि क्याम्पस स्ववियु सभापति चेतराज जोशीले अखिल (क्रान्तिकारी)को २३औं सम्मेलनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
अखिल (क्रान्तिकारी)को २३औं सम्मेलनको निर्वाचन प्रक्रिया माघ ८ गतेदेखि अनलाइन माध्यमबाट सुरु हुँदैछ। यसमा उम्मेदवारी दर्तालगायतका कार्यहरु सम्पन्न हुनेछन्। विद्यार्थी राजनीतिमा सक्रिय चेतराज जोशीले रामपुर कृषि क्याम्पसमा स्ववियु सभापति रहँदा "पढ्दै कमाउँदै" अभियान सञ्चालन गरेका थिए। यस अभियानमार्फत विद्यार्थीहरुले वार्षिक रुपमा सयपत्री फुलखेती, गोलभेडा खेती लगायतका कार्यहरु गर्दै लाखौं रुपैयाँ आर्जन गरेका थिए । जोशीको नेतृत्वमा भएको यो प्रयासले देशभर प्रशंसा पाएको थियो।
नयाँ सोच र परिवर्तनको अठोट
आगामी सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै, जोशीले आफ्नो प्रतिबद्धता सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,
"मेरो उम्मेदवारी: नयाँ सोच र रूपान्तरणको अठोट !! संगठन, शिक्षा र विश्वविद्यालयको सुधारमा अब पुरानो सोचको अन्त्य गर्दै, प्रगतिशील नेतृत्व र नयाँ विचारका साथ अघि बढ्न आवश्यक छ । शिक्षा सुधार, सर्वहारा वर्गको अधिकार र संगठनलाई गतिशील बनाउँदै शिक्षामा क्रान्ति र संगठनमा शक्ति निर्माण गर्न सबैको साथ आवश्यक छ ।"
उनको नेतृत्वले संगठनलाई नयाँ ऊर्जा र गतिशीलता दिने विश्वास गरिएको छ। अब आगामी २३औं सम्मेलनले जोशीजस्ता परिवर्तनका पक्षधर उम्मेदवारलाई कत्तिको साथ दिने हो, त्यो हेर्न बाँकी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस