सिमकोटमा घुम्ती स्वास्थ्य शिविर: उच्च पहाडी क्षेत्रका बालबालिकालाई खोप
हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौँरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको टोलीले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँसहित उत्तरी नाम्खा, ताँजकोट र त्यस क्षेत्रमा रहेका बाजुरा जिल्लाका पाँच बालक र एक बालिकालाई खोप लगाएको हो।
चार हजार मिटर अग्लो पाटन चौँरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप लगाइएको स्याडा स्वास्थ्य चौकीका अहेब राजेश थापाले जानकारी दिए। भदौ १७ गतेदेखि २२ गतेसम्म रानीसैनामा खोपसहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो।
कठिन भूगोलमा पुगेर सेवा
वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौंरीगाईसहित अन्य पशुु चरिचरनका लागि लैजानुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए। रानीसैना खर्कमा गोठाला बसेका २० महिला र २३ पुरुष गरी ४३ गोठालेको स्वास्थ्य जाँचसहित औषधि उपचार गरिएको पनि संयोजक भण्डारीले बताए।
स्याडा गाउँका र नाम्खा, ताँजकोट गाउँपालिकासहित छिमेकी बाजुरा जिल्लाका रानीसैना पुगेका गोठाला, जडीबुटी खन्न पुगेका नागरिकको उपचार गरिएको उनले बताउनुभयो। स्याडा स्वास्थ्य चौकीका इन्चार्ज लवी रावतको नेतृत्वमा घुम्ती शिविरमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो।
बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ। गत वर्ष पनि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिकाभित्र रहेका उच्च पाटनमा पुगेका बालबालिका र नागरिक स्वास्थ्य उपचारबाट कोही नछुटुन् भनेर घुम्ती शिविर सञ्चालन गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस