कांग्रेस र एमाले निकट विद्यार्थी संगठनको झडपका कारण विश्वविद्यालय १० दिनदेखि बन्द
चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठन बीचको झडपका कारण विश्वविद्यालय १० दिनदेखि बन्द छ। यसले गर्दा विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन तथा परीक्षा प्रभावित भएको छ।
भदौ १३ मा विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा दुई विद्यार्थी संगठनका समर्थकबीच झडप भएको थियो। यसको भोलिपल्ट विश्वविद्यालय प्रशासनले छात्रावास खाली गराएको थियो। भदौ १५ मा विश्वविद्यालयका निमित्त उपकुलपतिको अध्यक्षतामा बैठक बसिरहेका बेला नेपाली कांग्रेस निकट नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो। यसपछि सुरक्षाको कारण देखाउँदै प्रशासनले पठनपाठनलगायत गतिविधि बन्द गर्ने निर्णय गरेको थियो।
परीक्षा प्रभावित
झडप र तालाबन्दीका कारण स्नातक तहका विभिन्न सेमेस्टरका मौका र नियमित परीक्षा प्रभावित भएको छ। स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा भदौ १४ देखि सुरु हुँदै थिए। विश्वविद्यालयका परीक्षा नियन्त्रक सहदेव चौधरीका अनुसार, स्नातक तहको चारवर्षे कोर्सको परीक्षा सन् २०२४ भित्रै सकेर नतिजा पनि निकाल्ने योजना थियो तर अचानक यस्तो असहज परिवेश बनेकाले यसलाई व्यवस्थापन गर्न गाह्रो हुने खतरा बढेर गएको छ।
दुवै पक्षका दाबी
नेविसंघ रामपुर इकाइले जारी गरेको विज्ञप्तिमा भदौ १३ मा दिउँसो ३ बजे एमालेनिकट अनेरास्ववियु समर्थकले नेविसंघका पदाधिकारीमाथि आक्रमण गरेर घाइते बनाएको आरोप लगाइएको छ। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। नेविसंघ रामपुर इकाइ सभापति निकेश शर्माले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। उनका अनुसार, कुनै पदाधिकारी या प्राध्यापक दोषी देखिन्छ भने उनीहरूले राजीनामा दिनुपर्छ र आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुका साथै क्याम्पसले उनीहरूलाई तत्काल निष्कासन गर्नुपर्छ।
अर्कोतर्फ, एमालेनिकट अनेरास्ववियु चितवन जिल्ला अध्यक्ष हरि आचार्यले केही दिनअघि डोरी तान्ने कार्यक्रममा हारजित भएपछि भनाभन भएको र त्यसैले उग्ररूप लिँदै गएर झडप भएको बताए।
छानबिन समिति गठन
विश्वविद्यालयले घटनाको छानबिन गर्न प्राध्यापक भूमिनन्दन देवकोटाको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति बनाएको छ। विश्वविद्यालय खुल्ने वातावरण बनाउन आग्रह गर्दै रजिस्ट्रारले अपिल पनि जारी गरेका थिए। तर, नेविसंघ इकाइ अध्यक्ष शर्माले घटनामा संलग्न भनिएका मध्ये तीन जना अझै पक्राउ नपरेको र प्रतिवेदन नआएसम्म तत्काल तालाबन्दी नखुल्ने बताए।
विश्वविद्यालयका पदाधिकारीहरू भने सिनेट बैठकका लागि काठमाडौंमा छन्। भदौ २६ मा विश्वविद्यालयको सिनेट बैठक राखिएको छ। विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले अहिले देखिएको असहज अवस्था सामान्य बनाउन कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीलाई पनि अनुरोध गर्ने बताए।
विश्वविद्यालयका ९ आंगिक र ८ सम्बन्धन प्राप्त क्याम्पसमा ४५ सय विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी झडपका कारण विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थीहरूको भविष्यमाथि नै प्रश्न उठेको छ।
#AFURampurChitwan
तपाईको प्रतिक्रिया दिनुहोस