जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो । पहिले ब्याटिङ गरेको पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर आर्मी ७४ रनमै अलआउट हुँदा उपाधिको सपना चकनाचुर बन्यो ।
पुलिसको जितमा सागर ढकाल र ललितनारायण राजवंशी चम्किए । सागरले ६ विकेट र ललितले ४ विकेट लिए। सागरले १४.२ ओभरमा ३५ रन खर्चिँदा ललितले १५ ओभरमा ३९ रन दिए। सागर ‘प्लेयर अफ द म्याच’ बने ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए । सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिस १३९ रनमा अलआउट हुँदा १०२ रनको अग्रता बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए। राशिद खानले १८ रनको योगदान दिए ।
पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका साहब आलम र बसिर अहमदले समान ५ विकेट लिए । आर्मीले पहिलो इनिङमा १७० रन बनाउँदै ३७ रनको अग्रता लिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३ रन जोडेको थियो ।
कुशल भुर्तेलले ५१ रन र अर्जुन साउदले २८ रन जोडेका थिए। अमित श्रेष्ठले २० रन र राशिद खानले १० बनाए । आर्मिका साहब आलमले ७ विकेट लिँदा सोमपाल र बसिरले समान १ विकेट लिए ।
पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा चार टोली सहभागी थिए । यी दुई विभागीय टोलीसँगै बागमती र मधेश प्रदेशले पनि प्रतिस्पर्धा गरेका थिए । तर यसअघिको प्रधानमन्त्री कपमा भिडेकै दुई विभागीय टोली पुनः फाइनलमा पुगेका हुन् । पुलिसले लगातार उपाधि उचालेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस