रविका कार्यकर्ताहरू आलमका कार्यकर्ताभन्दा अपराधी - अधिवक्ता पोखरेल
हिजो अदालत परिसरमा अधिवक्ता दिनेश त्रिपाठी माथि रवि लामिछानेका कार्यकर्ताहरूले गरेको आक्रमण प्रति अधिवक्ता विमल पोखरेलले कडा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, रास्वपाका कार्यकर्ताहरू जिउँदै भट्टीमा जलाउने आलमका कार्यकर्ताभन्दा अपराधी भएको बताएका छन्।
पोखरेलले भने, "रौतहटमा जिउँदै इँटाभट्टामा हालेर मान्छे जलाएको अभियोग लागेका मोहम्मद अफ्ताब आलमको विरुद्धमा बहस गर्ने वकीललाई तिनका कार्यकर्ताले केही गरेनन्, तर रवि लामिछानेका कार्यकर्ताले सहकारी पीडितका वकिल दिनेश त्रिपाठीमाथि आक्रमण गरे ।"
उनले थपे, "मुद्दामा आफ्नो पक्षको कुरा इजलासमा राख्नु वकीलको कर्तव्य हो र यो काम केवल अदालतको इजलासमै गर्न सकिन्छ। कुनै पनि अपराधीले अदालतमा आफ्नो भनाइ राख्न पाउँछ । यो केबल न्यायको पक्षमा उभिने कुरा हो ।"
पोखरेलका अनुसार, मोहम्मद अफ्ताब आलमका कार्यकर्ताले विपक्षमा बहस गर्ने वकीललाई आक्रमण, हुलहुज्जत गरेका थिएनन् तर, लामिछानेका कार्यकर्ताहरूले न्यायको पक्षमा बोल्ने वकीलमाथि आक्रमण गरेका छन् । "अबको दुनियाँमा अपराधी ग्याङको धम्कीबाट कोही डराउँदैन," उनले भने ।
अधिवक्ता पोखरेलले यस्ता घटनामा कडा कदम उठाउनुपर्ने र न्यायिक प्रक्रियामा सबैको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस