छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
नेपालका विभिन्न ठाउँमा मंगलबार भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ । यी दुर्घटनामा धेरैजसो मोटरसाइकल सवारको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
सिराहाको नरहा गाउँपालिका–३ चौहर्वास्थित सडकमा दुई मोटरसाइकल ठोक्किँदा ४५ वर्षीय रघुबिर मण्डलको ज्यान गएको छ। गम्भीर घाइते मण्डलको विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यसै दुर्घटनामा अर्का मोटरसाइकल चालक र सवार व्यक्ति पनि घाइते भएका छन् ।
बाँकेमा राप्तीसोनारी गाउँपालिका–७ मा बस र मोटरसाइकल ठोक्किँदा २६ वर्षीय दिलबहादुर थारू र २५ वर्षीय राजन थारूको ज्यान गयो। दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
बारामा छुट्टाछुट्टै दुर्घटनामा चारजनाको मृत्यु भएको छ । फेटा गाउँपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय मिन्टु रामको मृत्यु भयो । जीतपुर सिमरा र महागढीमाई नगरपालिका क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई भएका दुर्घटनामा क्रमशः २२ वर्षीय सुशान्त चौधरी र ३८ वर्षीय रामबाबु पाठकले ज्यान गुमाए थिए ।
नुवाकोटको बेलकोटगढीमा दुई मोटरसाइकल ठोक्किँदा १८ वर्षीय आयुष अर्यालको मृत्यु भयो। रूपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा ३० वर्षीय भरत केसीले ज्यान गुमाएका थिए ।
बर्दियाको बारबर्दिया र मोरङको बुढीगंगामा भएका दुर्घटनामा क्रमशः २२ वर्षीय बिनोद थारू र २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ भने पर्साको पटेर्वा सुगौलीमा मोटरसाइकल दुर्घटनामा २३ वर्षीय सुदर्शन चौधरीको ज्यान गएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस