योग: स्वास्थ्य, समृद्धि र आरोग्य पर्यटनको मूलमन्त्र
मानिसलाई जे सम्भावना दिएको छ, त्यसको भरपुर उृपयोग गर्नुु नै योग हो
योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन हो । विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । पृथ्वीका सबै मनुष्यहरूले अब योग र अध्यात्मको लाभ लिन सक्नुपर्छ । योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो ।
योग जीवन जोड्नु वा स्थापित गर्नु हो । जोड दुई चरणमा सम्भव छ । पहिलो आफूभित्र रहेका सम्भावना र क्षमतासँग जोडनु हो । क्षमता र सम्भावना मुख्यतः स्वास्थ्यको सम्भावना र सुख, शान्ति, प्रेम, आनन्द, समृद्धिको सम्भावना हामीभत्र लुकेको हुन्छ ।
मानिसलाई जे सम्भावना दिएको छ, त्यसको भरपुर उृपयोग गर्नुु नै योग हो । दोस्रो योगको माग जसरी आफ्नो क्षमतासँग जोडिन चाहन्छ, अरुलाई आफ्नो क्षमता र सम्भावनालाई जोड्न मद्दत गर्नु योग हो । हामी हरेक व्यक्ति आन्तरिक र बाह्य जीवन जिउन चाहन्छौँ । योगको माध्यमबाट मात्रै आन्तरिक र बाह्य जीवनलाई जोड्ने सकिन्छ । जसले जोड्न पहल गर्छ, यसको जीवनमा नेतृत्वकलाको पनि विकास हुन्छ । हरेक व्यक्तिभित्र नेतृत्व क्षमता हुन्छ । त्यस्तो क्षमता भनेकै योग हो ।
योगको सरल, प्राकृतिक र मौलिक चरित्र हुन्छ । सरल यस अर्थमा कि योग जसले पनि गर्न सक्छ । यसमा कुनै जटिलता हुँदैन । हाम्रो शारिरीक संरचना नै योगको अभ्यास गर्ने गरी प्राकृतिक रुपमै निर्माण भएको छ । मौलिक यस अर्थमा कि योग हिमबत्खण्डबाट सिर्जित भएको विद्या हो । यो हाम्रो मौलिकता हो, सम्पत्ति हो र क्षमता पनि हो ।
योगलाई हामी प्रत्यिके व्यक्तिले जीवन पद्दति बनाउन सक्नुपर्छ । यसलाई व्यक्तिगत रुपमा मात्र नभई सामाजिक र सरकारी तहबाटै आत्मसात गर्नु आवश्यक छ । यस वर्षको योग दिवसको नारा‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने रहेको छ । यो नारा हाम्रो देशको सन्दर्भमा निकै नै सान्दर्भिक रहेको छ । समाज स्वस्थ त्यतिखेर हुन्छ, जब हरेक व्यक्तिले योगदलाई प्रयोग गर्छन् । जब हामी योगको पद्दतिमा प्रवेश गर्छौं, रोग, अभाव समाप्त भएर जान्छ र त्यसले स्वभाविक रुपमा समृद्धि ल्याउँछ । हाम्रो योगको विज्ञान र विधिअनुसार अरुलाई सिकाउन थाल्यौं भने समृद्धि बढ्छ ।
योगले आफूलाई सक्रिय र सजग बनाउँछ, सम्बन्ध बढाउन ऊर्जा बढाउने काम गर्छ भने स्वतः भाइचाराको विकास हुन्छ, बन्धुत्वको भाव आत्मिय रुपमा विकास हुन्छ । योगलाई व्यापक अर्थमा प्रयोग गर्न सकिन्छ । योगको पहुँच नेपालमा भएका आयुर्वेदिक पद्दति, प्राकृतिक चिकित्साका पद्दतिसँग रहेको छ ।
हाम्रा अमूल्य जडिबुटीहरू, मठमन्दिर, ध्यान केन्द्रहरू, जात्रा–महोत्सवजस्ता धार्मिक सांस्कृतिक अवयवहरू योगसँग नै जोडिएका हुन्छन् । नेपाल सरकारले योगलाई स्वास्थ्य र कल्याणका लागि महत्त्वपूर्ण अभ्यासका रूपमा अघि सार्नु आवश्यक छ । रेको छ । विभिन्न विद्यालय, विश्वविद्यालय, र समुदायस्तरमा योग अभ्यासलाई प्रोत्साहित गर्न सकिन्छ ।
नेपाल आरोग्य पर्यटनको गन्तव्य बन्न सक्छ
नेपाल योगको उत्पत्तिसँग जोडिएको देश मानिन्छ । योग प्राचीन वैदिक परम्पराबाट आएको हुनाले यसको जरा नेपाली समाज र धर्ममा गहिरो छ । विश्व समुदायमा नेपालले जहिले पनि शान्ति र आरोग्यको कामना गर्दै आएको छ । विश्वमा अहिले आरोग्य पर्यटन बढ्दो छ । यसको फाइदा नेपालले लिन सक्नुपर्छ । यसले मुलुकको समृद्धिको साथै विश्व शान्तिमा पनि नेपालले योगदान गर्न सक्दछ ।
नेपालजस्तो हिमाली देशमा योग पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना छ । नेपालसँग प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना छ । यी सबै सम्पदाहरू आरोग्यसँग जोडिएका छन् । एक अध्ययनले सन् २०३० सम्म विश्वव्यापी रुपमा पर्यटनको २० देखि २५ प्रतिशत हिस्सा आरोग्य पर्यटनले ओगट्ने देखाएको छ । त्यसैले नेपाललाई आरोग्य गन्तव्यको रुपमा विकास गर्न सकिएमा पर्यटनको माध्यमबाट ठूलो फाइदा लिन सकिन्छ ।
विगतमा जस्तो पर्यटनलाई नहेरी सरकारले आरोग्य पर्यटनको नेतृत्व लिने गरी नीति, योजना र कार्यक्रमहरू बनाउनु आवश्यक छ । यसका लागि हामीसँग राम्रो क्षमता छ । आरोग्य पर्यटनबाटै मुलुकले अर्थतन्त्रको आधारविन्दुको रुपमा स्वीकार गरी घोषणा गरी अघि बढ्नुपर्छ । यसमा सरकार र निजी क्षेत्र दुबैको उत्तिकै भूमिका रहेको छ ।
अन्य पर्यटकको तुलनामा आरोग्य पर्यटकले ३० देखि ३५ प्रतिशत बढी खर्च गर्ने सन् २०२१ मा गरिएको एक अध्ययनले देखाएको छ । नेपालमा आउने पर्यटकहरू भनेको खासगरी आरोग्य पर्यटकहरू नै हुन् । यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको स्वाद लिन नै उनीहरू आएका हुन्छन् । अब हामीले विधिवत् रुपमै छुट्टै गहिरो, प्रभावकारी अर्थतन्त्रमा टेवा पुग्ने गरी आरोग्य पर्यटनलाई विकास गर्नुपर्छ ।
आरोग्य पर्यटनको महत्व बुझेका देशहरूले यसलाई ब्राण्डिङ गर्न खोजिरहेका छन् । नोपलको मौलिकता यस्तो छ कि यसका लागि हामीले अलग्गै पूर्वाधार वा अन्य प्रयासहरू गर्न जरुरी छैन, नेपालको उत्पत्तिसँगै विकास भएर आएका छन्, मात्रै हामीले त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गरे पुग्दछ । त्यसैले नेपाल भ्रमणमा आउने पर्यटकहरू सुन्दर भाव लिएर फर्किन्छन् । नेपाललाई उनीहरू स्वास्थ्य र शान्ति प्राप्त गर्न सकिने देशको रुपमा लिने गर्छन् ।
तसर्थ, नेपालले योगलाई सांस्कृतिक र ऐतिहासिक रूपमा महत्व दिनु पर्दछ । आज हामी ससाना समस्याहरूसँग पनि जुध्ने क्षमता गुमाइरहेका छौँ । आफूभित्र रहेको अपार सम्भावनालाई खोज्न नसक्दा ठूलो युवा शक्ति विदेश पलायन भइरहेको छ । विदेशीहरूले हाम्रा होटल, होमस्टे, ध्यान केन्द्रहरूमा नै ठूलो ज्ञान शक्ति आर्जन गरिरहेका छन् ।
योग दिवसको सान्दर्भिकता
नेपालमा पनि राष्ट्रिय योग दिवस प्रत्येक वर्ष जुन २१ मा विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । आफ्नो क्षमता जोडेर निर्णय गर्न सक्नु पनि योग हो । अब राजनीतिक विषयलाई लिएर प्रतिस्पर्धा, विरोध गर्ने होइन, योगको अभ्यास गरी आफू र राष्ट्रलाई समृद्ध हुनेतर्फ अग्रसर हुनु समयको आवश्यकता हो ।
योग दिवस नेपालमा स्वास्थ्य र आध्यात्मिकताको प्रवद्र्धनका साथै योगलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने अवसर हो । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरूको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ । योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सकिन्छ ।
राष्ट्रिय योग दिवसले हामीमा योग, आरोग्य र समृद्धिको बाटोमा हिँड्न आत्मविश्वास र वातावरण तयार गरिदेओस् ।
तपाईको प्रतिक्रिया दिनुहोस