माओवादी पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।
यसअघि बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार आज (सोमबार) बस्ने बैठकमा केन्द्रीय समितिको बैठकले गरेका निर्णयलाई कार्यान्वयन, जनतासँग माओवादी अभियान, हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित अभियान, विचार मिल्ने वामपन्थी दलहरूसँग एकता गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै आगामी माघ १ गतेसम्म सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने, अवकाश प्राप्त विद्यार्थी नेताहरूलाई पार्टीको विभिन्न कमिटीहरूमा व्यवस्थापन गर्ने, पदाधिकारीदेखि सबै नेताहरूको सम्पत्ति विवरण पार्टीमा बुझाउने र पार्टीको लेखा आयोगले अनुगमन गर्ने निर्णय कार्यान्वयनबारे छलफल हुने प्रवक्ता सापकोटाले बताए ।
माओवादी पदाधिकारी बैठक दिउँसो २ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस