Techie IT

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपमा बागमती प्रदेशविरुद्ध पाँच विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

आइतबार धनुषाको जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले दिएको ११६ रनको लक्ष्य पुलिसले २३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । यसबोहक, कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले २० रन थपे ।

बागमतीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । नन्दन यादव, सूर्य तामाङ र प्रतिश जीसीले समान एक विकेट लिए ।

दोस्रो इनिङमा वाग्मतीका रित गौतम र सुभ कंसाकारले क्रमशः ५२ र ७० रन बनाए । सुभले ७४ बलमा १२ चौका र एक छक्का प्रहार गरे । रितले ९३ बलमा आठ चौका प्रहार गरे । यी दुईले ८–१ को स्थितिबाट १०७ रनको साझेदारी गर्दै वाग्मतीको इनिङ सम्हालेका थिए ।

यसबाहेक, कप्तान सन्दीप लामिछानले र सूर्य तामाङले समान १६ रन जोडे । उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १४ रन थप्दा रिजन ढकाल र नन्दन यादवले समान १० रन बनाए ।

दोस्रो इनिङमा पुलिसका ललित राजवंशीले तीन विकेट लिए । २० ओभर बलिङ गरेका ललितले ६ मेडन फ्याँक्दै ५९ रन खर्चिए । श्रवण यादवले दुई विकेट लिँदा गुल्सन झा, राशिद खान, कुशल भुर्तेल र प्रेम तामाङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले पहिलो इनिङमा ३३।२ ओभर खेल्दा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । जवाफमा पुलिसले पहिलो इनिङमा सबै विकेट गुमाउनुअघि १२५ रन बनाएको थियो ।

पहिलो इनिङमा १०३ रनले पछि परेको वाग्मतीले स्टम्प हुनुअघिसम्म चार ओभर समाप्त हुँदा विकेट नगुमाई आठ रन बनाएको थियो ।

त्यसअघि, पहिलो इनिङमा बागमतीका ओपनर इशान पाण्डेले अर्धशतक बनाएका थिए । उनले ९४ बलमा ७१ रन जोडे पनि टिमका अरू ब्याटरबाट गतिलो साथ पाउन सकेनन् ।

वाग्मतीबाट प्रतीक श्रेष्ठले १२ रन थपे । वाग्मतीका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । पहिलो इनिङमा वाग्मतीका कप्तान सन्दीप लामिछाने र सूर्य तामाङ ‘गोल्डेन डक’ भए ।

बागमतीलाई सस्तैमा रोक्न पुलिसका ललित राजवंशीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका ललितले दुई मेडन फ्याँक्दै २७ रन खर्चिए । श्रवण यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए ।

पहिलो इनिङमा पुलिसका दुई ब्याटरले अर्धशतक बनाए । पुलिसका अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्कासहित ७९ रन जोडे । अर्जुन साउदले ८२ बलमा आठ चौका र दुई छक्कासहित ७७ रन थपे ।

यी दुईले ३५–३ को स्थितिबाट चौथो विकेटका निम्ति १४८ रनको साझेदारी गर्दै पुलिसको इनिङ सम्हालेका थिए । गुल्सन झाले १७ रन बनाए ।

पहिलो इनिङमा पुलिसविरुद्ध वाग्मतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । ११.५ ओभर बलिङ गरेका सन्दीपले तीन मेडन फ्याँक्दै ६५ रन खर्चिए । नन्दन यादव र प्रतिश जिसीले समान दुई विकेट लिए । रिजन ढकालले एक विकेट हात पारे ।

जितसँगै फाइनलमा स्थान बनाएको पुलिसले अब उपाधिका निम्ति अर्को विभागीय टोली त्रिभुनव आर्मी क्लबसँग खेल्नेछ । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ‘ड्र’ खेलेको थियो । पुलिसले दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको थियो ।

हारसँगै वाग्मती प्रतियोगिताको लिग चरणबाट बाहिरिएको छ । वाग्मतीले पहिलो खेलमा मधेस र दोस्रोमा आर्मीसँग ‘ड्र’ खेलेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट