Techie IT

मधेशमाथि सानदार जित निकाल्दै पुलिस शीर्ष स्थानमा


जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि एक इनिङग्स र ३५ रनको सानदार जित निकालेको छ । वीरगञ्जमा बिहीबार घरेलु टोलीलाई दोस्रो इनिङग्समा ९४ रनमै अलआउट गरेपछि पुलिसले आफ्नो दोस्रो इनिङग्स ब्याटिङ गर्नुअघि नै जित निकालेको हो ।

दोस्रो इनिङग्समा मधेशका लागि विशाल पटेलले २७ रन र मयन यादवले २२ रन बनाए। अरु ब्याटर सस्तैमा आउट भएका थिए । बलिङमा पुलिसका स्पिनर कुशल भुर्तेलले ५ विकेट लिन सफल भए। उनले ४.२ ओभरमै ५ विकेट लिएपछि मधेश सस्तैमा समेटियो। कुशल बाहेक गुल्सन झाले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे ।

त्यसअघि पुलिसले पहिलो इनिङग्समा ४ विकेटको क्षतिमा २५८ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। मधेश भने पहिलो इनिङग्समा १२९ रनमै अलआउट भयो। जसका कारण पुलिसले पहिलो इनिङग्समै १२९ रनको अग्रता लिएको थियो ।

पहिलो इनिङग्समा पुलिसका लागि कुशल भुर्तेलले ६३ रन बनाए भने दिलिप नाथले ४० रन, अमृत श्रेष्ठले ३५ रन, कप्तान आरिफ शेखले नटआउट ४० रन र शंकर रानाले नटआउट ३१ रन बनाए। बलिङमा मधेशका हरिशंकर साहले २ विकेट लिए ।

बुधबार पहिलो दिन टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेश लञ्चपछि ब्याटिङ नचल्दा १२९ रनमा अलआउट भयो । मधेशका लागि ओपनिङ ब्याटर मयन यादवले ५९ रन जोडे भने निरज यादवले २९ रनको योगदान गरे । मयनले बागमतीविरूद्धको अघिल्लो खेलमा शतक प्रहार गरेका थिए ।

अभिषेक तिवारीले नटआउट १७ रन जोड्दा मधेशका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो इनिङग्सको बलिङमा पुलिसका गुल्सन झाले ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिन सफल भए । दुवै इनिङग्समा गरी कुल ७ विकेट र पहिलो इनिङग्समा ६३ रन जोडेका भुर्तेल खेलको प्लेयर अफ दि म्याच भए ।

अघिल्लो खेलमा पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए । जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पुलिसले ४० अंक जोडेको छ भने दोस्रो स्थानको मधेशको २१ अंक छ। अघिल्लो खेलमा १५ अंक जोडेको पुलिसले दोस्रो खेलमा जित निकालेसँगै २५ अंक जोड्न सफल भयो। मधेसले भने दोस्रो खेलमा ६ अंक मात्र पायो ।

प्रत्येक ५० रन, प्रत्येक विकेट, पहिलो इनिङग्सको अग्रता, जित/बराबरीको आधारमा अंक निर्धारण हुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट