के रवि आज छुट्लान् ?
पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार बुधबार सहकारी पीडित पक्षका कानुन व्यवसायीले आफ्नो जवाफी बहस समाप्त गरेपछि सरकारी वकिलले बहस अघि बढाएका हुन् ।
न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहसमा प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ। अब थुनछेक बहसपछि अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने या थुनामुक्त राखेर अनुसन्धान जारी राख्ने निर्णय गर्नेछ ।
पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलनमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरसमेतको आरोप छ ।
यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललगायत सात जना प्रतिवादीहरूको बहस भइरहेको छ। सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ भने लामिछानेसहित १९ जनामाथि सङ्गठित अपराधका अतिरिक्त सम्पत्ति शुद्धीकरण मुद्दासमेत लगाइएको छ ।
सरकारी वकिलको कार्यालयका अनुसार सहकारी पीडितहरूका करिब ५० करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ । लामिछानेमाथि सहकारी रकम दुरुपयोगमा योजनाबद्ध रूपमा संलग्न भएको र आर्थिक अपराध गरेको आरोप छ । लामिछाने माथि लागेको आरोपका आधारमा धरौटीमा छुट्न सक्न सम्भावना निकै कम रहेको सरकारी वकिलहरुले बताइरहेका बेला लामिछानेपक्षका वकिलहरु भने आज धरौटीमा छुट्ने तर्क गरिरहेका छन् ।
अब अदालतको आदेशले यस प्रकरणमा प्रतिवादीहरूको आगामी कानुनी स्थिति तय गर्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस