रुसबाट ८० हजार आप्रवासी निष्कासन, सन् २०२४ मा संख्या दोब्बर
रुसले सन् २०२४ मा ८० हजारभन्दा बढी आप्रवासीलाई निष्कासन गरेको छ, जुन सन् २०२३ को तुलनामा दोब्बर हो। गत वर्षको क्रोकस सिटी हलमा भएको आतङ्कवादी आक्रमणपछि आप्रवासनसम्बन्धी नीतिहरू कडा बनाएको रुसले यो कदम चालेको हो ।
मार्च २०२३ मा क्रोकस सिटी हलमा भएको बम आक्रमणमा १४० भन्दा बढीको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो, जसमा कथित रूपमा ताजिक नागरिकहरूको संलग्नता थियो। यो घटनापछि रुसले आप्रवासीहरूलाई लक्षित गर्दै कडा छापा र नीतिहरू कार्यान्वयन गर्न थालेको हो ।
रुसको बेलिफ सेवाहरूले दिएको जानकारीअनुसार, “अदालतको आदेशमा ८० हजारभन्दा बढी आप्रवासी र राज्यविहीन व्यक्तिहरूलाई देशबाट निष्कासन गरिएको छ ।” तुलनामा, सन् २०२३ मा यो संख्या ४४ हजार दुई सय मात्रै थियो ।
निष्कासन गरिएका व्यक्तिहरूको राष्ट्रियता खुलाइएको छैन, तर अधिकांश मध्य एसियाका पूर्व सोभियत गणराज्यका श्रमिक रहेको अनुमान छ। निष्कासनपछि ती व्यक्तिहरूलाई पाँच वर्षसम्म रुस प्रवेशमा प्रतिबन्ध लाग्ने नियम छ ।
आप्रवासी विरोधी आवाजपनि वृद्धि हुँदै गइरहेको छ । सेप्टेम्बरमा संसद्का अध्यक्ष व्याचेस्लाभ भोलोडिनले आप्रवासीहरूसँग सम्बन्धित ३४ वटा नयाँ कानूनमा काम भइरहेको बताएका थिए । तीमध्ये परिवार पुनर्मिलन रोक्नेदेखि विशेष कामका क्षेत्रमा आप्रवासीहरूलाई प्रतिबन्ध लगाउने प्रस्ताव पनि समावेश छन् ।
त्यसैगरी, केही सांसदहरूले रुसी भाषा बोल्न नसक्ने आप्रवासीलाई निष्कासन गर्न प्रस्ताव गरेका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार, नागरिकता प्राप्त गरेका करिब १० हजार आप्रवासी युक्रेनमा रुसी सेनामा सामेल भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस