२०८२ मंसिरमा महाधिवेशन गर्नेगरी सकियो माओवादीको केन्द्रिय कमिटीको बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी वर्ष २०८२ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । तीन दिनसम्म लगातार बसेको पार्टी केन्द्रीय समितिको छैटौँ पूर्णबैठकले आगामी वर्षको मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन ’अनन्त’ले महाधिवेशनको साटो तत्काल विशेष महाधिवेशन गर्नुपर्ने माग राखेका थिए । तर, अधिकांश नेताहरूले अहिले नै विशेष महाधिवेशनमा जानू उपयुक्त नहुने धारणा राखेका थिए ।
पहिले अभियानमा जानुपर्ने र त्यसपछि महाधिवेशनको मिति तय गर्नुपर्ने मत राखेका थिए । अध्यक्ष प्रचण्डले पनि पहिले ६ महिना अभियानमा र त्यसपछि महाधिवेशनमा जाने भनेपछि नेताहरू सहमत भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
तथापि उपमहासचिवद्वय शर्मा र पुनले बैठकमै तत्काल विशेष महाधिवेशनको माग गरेका थिए । उनीहरूले घुमाउरो शैलीमा केन्द्रीय समितिको बैठकबाटै विशेष महाधिवेशनको मिति तय गर्नुपर्ने धारणा राखेका थिए ।
यद्यपि बैठकमा अधिकांश नेताले शर्मा र पुनको विशेष महाशिवेशनको मागप्रति चासो नदेखाएपछि यसबारे कुनै छलफल नै नभई बैठक समापन भएको थियो ।
२०८२ मंसिरको महाधिवेशनमा प्रचण्डको विकल्प खोज्नुपर्ने शर्मा र पुनको धारणा थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस