तिब्बत भूकम्प प्रभाव : छतबाट हामफाल्ने पुरुषको दुवै खुट्टामा चोट, विद्यार्थीहरू बेहोस
काठमाडौं । आज (मंगलबार) बिहान ६ः५० बजे नेपालमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । चीनको तिब्बत डिंग्री काउन्टी केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको भूकम्प गएपछि नेपालमा पनि धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्का महसुस गरेपछि काठमाडौं उपत्यकाका मानिसहरू एकसाथ घरबाहिर निस्केका थिए भने स्युचाटारस्थित घरको छतबाट एक जना पुरुषले हाम फालेका थिए ।
उनको अहिले मनमोहन मेमोरियल हस्पिटलमा उपचार भइरहेको प्रहरी प्रवक्ता एवं एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट एक्कासी हामफालेपछि दुवै खुट्टामा चोट लागेको छ ।
त्यस्तै भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन् । कलैया उपमहानगरपालिका–१ देवकोटास्थित त्रिचन्द्र माविमा कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उनीहरू अहिले डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस