भूकम्पमा ५३ जनाको मृत्यु, राष्ट्रपति सी चिनफिङले उद्धार र राहत कार्यमा तिव्रता ल्याउन निर्देशन
चीनका राष्ट्रपति सी चिनफिङले चीनका अधिकारीहरूलाई भूकम्पपछिको उद्धार र राहत कार्यमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमासँगै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र बनेर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
चीनको आधिकारिक भूकम्प मापन निकाय, चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार, भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा रहेको थियो। स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा भूकम्पले थुप्रै स्थानमा क्षति पुर्याएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार, अहिलेसम्म ५३ जनाको मृत्यु भएको र ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । राष्ट्रपति सी चिनफिङले घाइतेहरूको तत्काल उद्धार र अस्पतालमा उपचारका लागि व्यवस्था गर्न निर्देशन दिएका छन्। उनले भूकम्पपछिका विस्थापित व्यक्तिहरूलाई पुन:स्थापना गर्न पनि तत्परता अपनाउन निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस