सवारी दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते
देशभर तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
रूपन्देहीमा ट्याक्टर दुर्घटनाः दुईको मृत्यु
रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडास्थित सडकमा सोमबार दिउँसो लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको हो ।
साथै, दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसहित दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उदयपुरमा स्कुटर चालकको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले स्कुटर (प्र.१–०५–००१ प ७६८४) किच्दा रौतामाई गाउँपालिका–७ मुर्कुची निवासी ४० वर्षीय बासु खड्काको मृत्यु भएको छ। गम्भीर घाइते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको हो ।
सिन्धुलीमा बोलेरो दुर्घटनाः एकको मृत्यु, दुई घाइते
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ जखौलीस्थित सडकमा आइतबार बेलुका ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका २० वर्षीय कैलाश राईको मृत्यु भएको छ। गम्भीर घाइते भएका राईको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा घाइते भएका बोलेरोमा सवार दुई जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।
तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस