Techie IT

नेवार बस्तीमा संस्कृति आदानप्रदान


नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ । परम्परागत नेवारी गीत, नाच आदिको जगेर्ना हेतु देशका विभिन्न जिल्लामा रहेका नेवार बाहुल्य बस्तीमा संस्कृति आदानप्रदान कार्यक्रम गर्ने गरिएको समाजका अध्यक्ष सुरेश सायमी मानन्धरले बताए ।     
    
मुख्यगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृतिलाई अन्यत्र ठाउँमा परिचित र अन्तरघुलन गराउने उद्देश्यले समाजले यस यसलाई अभियानका रूपमा निरन्तरता दिँदै आएको उनको भनाइ छ । सोही सिलसिलामा शनिबार बागलुङ सदरमुकाममा उक्त कार्यक्रम गरिएको अध्यक्ष मानन्धरले जानकारी दिए । समाजले तीन सय वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरेको हो ।     
    
नेपाल भाषा मंकाः खलः बागलुङको आयोजना र आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका तर्फबाट काठमाडौँमा प्रचलित धिमे, कुमारीलगायत परम्परागत नाच प्रस्तुत गरिएको थियो । यस्तै बागलुङको ऐतिहासिक हनुमान नाच, लाखे नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको मंकाः खलका अध्यक्ष जयराम भारीले जानकारी दिए । 

स्थानीय लोकतान्त्रिक चोकमा भएको कार्यक्रम समाजका पदाधिकारी, सदस्य, कलाकार लगायत एक सय २० जना काठमाडौँबाट आमन्त्रित गरिएका थिए । उनीहरूले बागलुङवासीलाई नेवारी चलनअनुसारको सगुन पनि खुवाएका थिए ।     
    
नेवारी वेशभूषामा सजिएका कलाकार र पाहुनाको उपस्थितिले कार्यक्रम उत्सवमय बनेको थियो । दर्शकदीर्घाबाट पनि रूचिपूर्वक कार्यक्रमको अवलोकन गरिएको थियो । काठमाडौँ–बागलुङबीचको नेवारी संस्कृतिको चिनारी र आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको मंकाः खलका अध्यक्ष भारीले बताए । 

कार्यक्रममा सहभागी बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नेवार जाति संस्कृतिमा अब्बल र धनी रहेको बताए । सयौँ वर्ष पुराना गीत र नाचलाई जोगाएर राख्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस्ता क्रियाकलाप अन्य समुदायका लागि पनि अनुकरणीय रहेको उनको भनाइ थियो ।     
    
मंकाः खलःका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले संस्कृति आदानप्रदानमार्फत भाइचारा र एकताको सन्देश प्रवाह भएको बताए । उहाँले नेपालको विविधतापूर्ण भाषा, कला र संस्कति विश्वकै लागि अभूतपूर्व रहेको धारणा राख्नुभयो । नेपाली संस्कृति संरक्षण गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण रहेको हुँदा यसलाई सबैले मिलेर संरक्षण गर्न जरुरी भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।     
    
नेवार समुदायले आफ्नो मौलिक जात्रा, नाच, गीत, पर्व, भजन, संस्कार, खानपान, संस्कृति र सम्पदा संरक्षण गर्दै आएको छ । बागलुङमा पनि भदौरे जात्रा, हनुमान, लाखे नाच, जोगी, रोपाइँ नाच आदि प्रचलनमा छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलःले अगुवाइ गर्दै आएको छ । 

संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा कतिपय नाच लोप हुने खतरा बढेको बताए । संरक्षण नहुँदा नागनागिनीसहित केही नाच हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उनको भनाइ छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट