Techie IT

बाघ संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान विस्तार गर्दै


बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ । नेपालकै कान्छो निकुञ्जका रुपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो ।     
    
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए । “हामीसँग हालसम्म चार सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ”, उनले भने ।     
    
कँडेलले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण गरिने कँडेलको भनाइ छ ।     
    
उहाँका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको उनले सुनाए ।     
    
निकुञ्जका सूचना अधिकृत मन्दीप पँगेनीले करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीनवटा सोलार जडित पानीपोखरी र एउटा मचान बनाइएको बताएका छन् ।     
    
बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको सङ्ख्या २५ पुगेको छ । सन् २०१३ मा दोस्रो बाघ गणनामा चार, सन् २०१८ मा भएको तेस्रो गणनामा २१ पुगेकामा त्यसयता बाघको सङ्ख्या ह्वात्तै बढेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिए ।     
    
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके निकुञ्ज स्थापना गरिएको थियो । उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ ।     
    
यहाँ जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिष्टम, एकसय २४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् । ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।     
    
बाँके, दाङ र सल्यान जिल्लाको तीन सय ४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ठूला वन्यजन्तुका लागि एकदमै महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट