मैले गलत प्रवृत्तिको विरोध गरेकै कारण पार्टीबाट मलाई निकालियो - नेता भीम रावल
नेकपा (एमाले) का नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कडा आलोचना गर्दै पार्टीभित्रको गतिविधि र महाधिवेशनको प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठाएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले चितवनमा भएको एमाले महाधिवेशनका क्रममा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर आफूलाई विभेद गरेको आरोप लगाए। उनले महाधिवेशनका बेला आफ्नो बसोबास गरेको होटलबाहिर नाराबाजी गराउन पार्टीकै युवाहरूलाई रक्सी खुवाएर परिचालन गरिएको बताएका छन्। "म बसेको होटलबाहिर केटाहरूलाई नाराबाजी गर्न लगाइयो। मेरो आग्रहमा सशस्त्र प्रहरी आएर उनीहरूलाई हटायो," उनले भने।
रावलले महाधिवेशनका क्रममा आफूलाई बेवास्ता गरिएको बताउँदै भने, "वरियतामा तल भएका चार जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरियो, तर मलाई सामान्य एउटा कोठामात्र उपलब्ध गराइयो।"
उनले महाधिवेशनको प्रक्रिया एकपक्षीय भएको र आफूलाई बैठकमा समेत सहभागी हुन नदिन निर्देशन दिइएको दाबी गरे। "मंसिर ११ गते महाधिवेशनको बैठकमा छिर्न नदिन स्वयम्सेवकलाई निर्देशन दिइयो। यस्तो कार्यले पार्टीको जबज र लोकतान्त्रिक मान्यतामाथि धक्का पुर्याएको छ," उनले थपे।
रावलले पार्टीभित्र फरक मतप्रति सम्मान नगर्ने ओली प्रवृत्तिको आलोचना गर्दै भने, "मैले गलत प्रवृत्तिको विरोध गरेकै कारण पार्टीबाट मलाई निकालियो। यो लोकतान्त्रिक अभ्यासको खिलाफ हो।"
पत्रकार सम्मेलनमार्फत रावलले ओलीलाई स्पष्टीकरण सोध्दै पार्टीभित्र अन्तरविरोध बढाउने, फरक मतलाई सम्मान नगर्ने र एकलौटी निर्णय गर्ने प्रवृत्तिबारे प्रश्न उठाए। "यदि चित्तबुझ्दो जवाफ दिन सकिएन भने मिसन ०८४ मा जनताले त्यसको जवाफ दिनेछन्," उनले चेतावनी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस