काठमाडौं कलिङ साहित्य महोत्सव: नेपालको सांस्कृतिक सम्पदामा केन्द्रित
काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण भदौ २२ र २३ गते ललितपुरको होटल हिमालयमा आयोजना हुने भएको छ। यस वर्षको महोत्सवको मुख्य विषय ‘नेपाल: एसियाली कला, संस्कृति तथा साहित्यको प्रवेशद्वार’ रहेको छ।
आयोजकका अनुसार, यस महोत्सवमा नेपाल तथा भारतका ३०० भन्दा बढी लेखक, कलाकार तथा विज्ञहरू सहभागी हुनेछन्। उद्घाटन समारोहमा पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनेछन्।
यस महोत्सवको मुख्य उद्देश्य नेपालको साहित्यिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउनुका साथै दक्षिण एसियाली देशहरूबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु रहेको छ । महोत्सव निर्देशक रश्मीरञ्जन परिडाले यस महोत्सवले लामो समयदेखि कायम रहेको नेपाल र भारतबीचको सम्बन्धलाई उत्सवका रूपमा स्मरण गर्ने बताएका छन्। संस्थापक सदस्य रञ्जना निरौलाले यस महोत्सवले साहित्य, संगीत, कला र संस्कृतिमा रुचि राख्ने सबैका लागि जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।
महोत्सवका प्रमुख वक्ताहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, अभि सुवेदी, भुवन ढुंगाना (नेपाल) त्यसैगरी उदय प्रकाश, लक्ष्मी मुर्डेश्वर, सञ्जीव सान्याल, गुरुचरण दास (भारत) र बेलायती राजदूत रोब फेन हुनेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस