सुदूरपश्चिमको विकासका लागि सामूहिक प्रतिबद्धतामा जोड
सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा सङ्कल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् ।
परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरू भएको दुईदिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटनसत्रका वक्ताहरूले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी लाभ लिनेगरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिम विकासमा समस्या रहेको बताएका छन् । यसैकारण आवश्यकताअनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरूलाई उनले आग्रह गरेका थिए । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता डा रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशतभन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए । उनले राज्यले दिएको स्रोत स्थानीय तहले पनि सही ठाउँमा र सही ढङ्गले प्रयोग गर्न आग्रह गरे ।
सुदूरपश्चिम नगरपालिका सङ्घका प्रदेश अध्यक्ष वीरेन्द्र भट्टले जनताको आशा स्थानीय तहसँग रहे पनि स्रोतसाधनको अभावमा त्यसलाई सम्बोधन गर्न समस्या रहेको बताएका छन् । उनले कम आम्दानी र भौगोलिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका तहलाई राज्यले विशेष सहयोग गरेर समानुपातिक विकासमा जोड दिन आग्रह गरेका थिए ।
कार्यक्रममा ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) का कार्यकारी निर्देशक डा केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतले विकासका लागि कुनै एक पक्षको पहलले मात्रै नहुने भन्दै सबैको सामूहिक प्रयासबाट अगाडि बढ्नुपर्ने बताएका छन् । उहाँहरूले पर्यटन (जलपर्यटनसहित), कृषि, औद्योगिक पूर्वाधार, दिगो विकासलाई दृष्टिगत गरी तीनै तहका सरकार र निजी क्षेत्रले योजनाबद्ध विकासका लागि सहकार्य जरूरी रहेको धारणा राखेका थिए ।
आयोजक नगरपालिकाका प्रमुख भरत बचायर जोशीले सुदूरपश्चिमका स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि सङ्गठित आवाज आवश्यक रहेको बताएका छन् ।
“पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम–२०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरू, प्रादेशिक र क्षेत्रीय सरकारी निकायहरूका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ”, नगरप्रमुख जोशीको भनाइ छ, “यस फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सुदूरपश्चिमको भविष्यका लागि स्थानीय तहहरू मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो । यसबाट सोही अनुसार निचोड आउनेछ भन्ने विश्वास छ।”
सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस