३२ नाघेका माओवादी विद्यार्थीको नेतृत्वमा पुग्ने चाहमा पूर्णविराम, अब तन्नेरीले हाँक्नेछन् अखिल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को उमेरहद लगाउनुपर्ने प्रस्तावमा मतदान भएको थियो । मतदानमा ३२ वर्षे उमेरहद प्रस्तावको पक्षमा बहुमत परेको छ ।
शनिबार मतदान र आइतबार राति सार्वजनिक भएको नतिजाअनुसार १ हजार ७८९ मत खसेकोमा ९०० मत ३२ वर्षको उमेरहद लगाउने पक्षमा परेको थियो । उमेरहद नलगाउने पक्षमा ९७९ मत परेको थियो ।
२१ मतको अन्तरले उमेरहद लगाउने प्रस्तावको जित भएको निर्वाचन समितिले जनाएको छ । १० मत बदर भएका छन् । जम्मा मतदाता २ हजार ३९८ थिए ।
योसँगै निर्वाचन समितिले दोसो चरणको केन्द्रीय समितिको पदाधिकारी, केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीहरूको निर्वाचन तालिका पनि प्रकाशन गरेको छ । जसअनुसार माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु गरी मतदान कार्य माघ १२ गते शनिबारका लागि तोकिएको छ भने पुस १५ गते गर्ने भनिएको मनोनयन दर्ता कार्यक्रम रद्द गरिएको छ ।
अन्य कार्यतालिका भने पछि प्रकाशित गरिने पनि निर्वाचन समितिले जनाएको छ । यसअघि गत असोज १० देखि १५ गतेसम्म भएको अखिल (क्रान्तिकारी) को सम्मेलनमा उमेरहदकै विषयलाई लिएर विवाद चर्किएपछि बन्द सत्र स्थिगित भएको थियो ।
क्रान्तिकारीको संगठनात्मक संरचनाअनुसार भौगोलिक र गैरभौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा उमेरहद ३२ लगाउने वा खुला गर्नेबारे शनिबार मतदान गरिएको थियो । अखिल (क्रान्तिकारी)को इतिहासमा पहिलोपटक विधानउपर मतदान भएको हो ।
योसँगै अब ३२ वर्ष नाघेका विद्यार्थीले नेतृत्वमा पुग्न पाउने छैनन् । लामो समयदेखि विद्यार्थी आन्दोलनमै हुर्के बढेका तर ३२ नाघेका कयौँ विद्यार्थीहरू उप्रान्त नेतृत्वमा पुग्ने छैनन् । शनिबारको मतदानले उनीहरूमाथि पूर्णविराम लगेको छ । अब अखिल (क्रान्तिकारी) ३२ मुनिका विद्यार्थीले हाँक्नेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस