Techie IT

जापान एयरलाइन्समा साइबर आक्रमण


जापान एयरलाइन्स (जेएएल)ले बिहीबार साइबर आक्रमणको शिकार भएको जनाएको छ, जसका कारण देशभित्र र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भयो। एयरलाइन्सले समस्याको कारण पहिचान गरी समाधान गरेपछि सेवा पुनःसञ्चालनमा आएको जनाएको छ।

साइबर आक्रमणले जेएएलको ब्यागेज चेक-इन प्रणालीलाई प्रभावित पार्दा जापानका विभिन्न विमानस्थलमा दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको थियो। यद्यपि, यसले कुनै ठूलो अवरोध वा सामूहिक उडान रद्द भने गरेको थिएन।

जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म "एक्स" (पूर्व ट्विटर) मा पोस्ट गर्दै भन्यो, “समस्याको कारण पहिचान गरेर समाधान गरिसकेका छौँ। प्रणाली पुनःस्थापनाको स्थिति परीक्षण भइरहेको छ। आजका लागि घरेलु र अन्तर्राष्ट्रिय उडान टिकट बिक्री स्थगित गरिएको छ। असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ।”

साइबर आक्रमण बिहीबार बिहान ७:२४ बजे सुरु भएको एयरलाइन्सले बताएको छ। अवरोध सिर्जना गरिरहेको राउटरलाई बिहान ८:५६ बजे अलग गरी समस्या नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।

यो घटनाको सार्वजनिक जानकारीपछि जेएएलको शेयर मूल्य बिहानको कारोबारमा २.५ प्रतिशतले घटेको थियो। त्यसपछि बजारमा केही सुधार देखिएको छ।

जापान एयरलाइन्स मात्र होइन, पछिल्लो समय साइबर आक्रमणबाट जापानी कम्पनीहरू प्रायः प्रभावित हुने गरेका छन्। सन् २०२३ मा जापानको अन्तरिक्ष एजेन्सी (जाक्सा) र नागोया बन्दरगाह र्यान्समवेयर आक्रमणको शिकार भएका थिए।

जापानको साइबर सुरक्षाका लागि जिम्मेवार एजेन्सी "नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी" (एनआईएससी) ले २०२३ मा विभिन्न संस्थामा नौ महिनासम्म ह्याकरहरूको घुसपैठ भएको उल्लेख गरेको थियो।

यसअघि टोयोटा मोटरका आपूर्तिकर्ताहरू र भिडियो साझेदारी प्लेटफर्म "निकोनिको" पनि साइबर आक्रमणको प्रभावमा परेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट