छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं, ११ पुस – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
दाङ – गढवा गाउँपालिका-५ कक्रहवास्थित सडकमा रा.१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५० वर्षीय तुलाराम विकको ज्यान गएको छ। घाइते तुलारामको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अटोमा सवार अर्को व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ।
बागलुङ – गल्कोट नगरपालिका-८ जोईढुङ्गास्थित सडकमा लु.३ च १८९१ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेर ५१ वर्षीय सुर्य बहादुर भण्डारीको मृत्यु भएको छ। गम्भीर घाइते भएका भण्डारीको नगर अस्पताल गल्कोटमा उपचारका क्रममा ज्यान गएको हो।
कपिलवस्तु – वाणगंगा नगरपालिका-१० मझौवास्थित सडकमा लु.३८ प ४१४१ नम्बरको मोटरसाइकल दुर्घटनामा ३२ वर्षीय अक्रम हुसेनको मृत्यु भएको छ। उनको क्रिमशन अस्पताल मणिग्राम बुटवलमा उपचारका क्रममा ज्यान गएको हो।
पर्सा – वीरगंज महानगरपालिका-२५ बहुअरीस्थित सडकमा नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ। गम्भीर घाइते भएका मिश्राको नारायणी अस्पताल वीरगंजमा उपचारका क्रममा निधन भएको हो।
खोटाङ – केपिलासगढी गाउँपालिका-३ राखी तापखोलास्थित सडकमा ना.१ ज ७१८१ नम्बरको सुमो दुर्घटना हुँदा ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुर्घटनामा संलग्न सवारी चालकहरुलाई नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस