भारतले भ्रमणको निम्तो नदिएकोमा प्रधानमन्त्री ओलीको रोइकराइ
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भारतले भ्रमणको निम्तो नदिएको बताएका छन् ।
उनले हिजो (बुधबार) दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकमा भारतले हालसम्म भ्रमणको कुनै संकेत नदिएको बताएका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै भारतबाट आफूलाई अहिलेसम्म भ्रमणको निम्तो आइनसकेको जानकारी गराएका थिए ।
‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन । सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ,’ सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाइ छ ।
गत मंसिर २० गते चार दिने चीन भ्रमण पूरा गरेर स्वदेश फर्केका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा भारत भ्रमणको ‘एरेन्ज’ व्यवस्थापन गर्ने जवाफ दिएका थिए ।
ओलीले यस्तो बताए पनि अहिलेसम्म भारतले प्रधानमन्त्रीको भ्रमणका लागि तयारी र चासो दुवै नदेखाएको राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
केही समयअघि परराष्ट्रमन्त्री आरजु राणा देउवा जर्मनीबाट सिधै भारत आएपछि उनले प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउने चर्चा भएको थियो तर मन्त्री राणालाई समेत भारतीय पक्षले भेट नदिएपछि उनको आलोचना हुन पुगेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस