Techie IT

अपडेट – अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार


अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । 

हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । 

कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् ।

कजाकिस्तानका अधिकारीले भनेका छन्, ‘विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको संख्यामा अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।’

विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो ।

विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्याएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना रूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ ।

कजाकिस्तानको आकष्मिक व्यवस्था मन्त्रालयले विमान दुर्घटना हुँदा लागेको आगो आफ्ना कर्मचारीले नियन्त्रणमा लिएको जनाएको छ ।

‘प्रारम्भिक जानकारीअनुसार विमानमा सवार दुई बालबालिकासहित २८ जनालाई अस्पताल भर्ना गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका  लागि जुटेका छन् । कजाकिस्तानको राजधानी अस्तानाबाट घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको विशेष विमान पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूले यसअघि दिएको जानकारीमा १४ जना घाइतेलाई क्षेत्रीय अस्पतालमा लगिएको र पाँच जनालाई सघन उपचार कक्षमा राखिएको बताएका थिए भने स्थानीय सञ्चारमाध्यमले  विमानमा सवार २५ जनालाई जीवितै उद्धार गरिएको र पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरेका थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट