Techie IT

बाँकेमा कुपोषणको भयावह अवस्था : सबै स्थानीय तहका बालबालिकाहरू कपोषित


बाँकेनेपालगञ्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् ।

‘पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला परेका छन् ।’ जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भने ।

उनले कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर संघ, प्रदेश र स्थानीय सरकारले पोषण विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै सबैभन्दा बढी मधेसी र मुश्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए ।

समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको अधिकृत उपाध्यायले उल्लेख गरे । उनका अनुसार सबैभन्दा बढी जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा तीन ७४, नरैनापुर गाउँपालिकामा तीन सय ५१, नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय २०, डुडुवा गाउँपालिकमा एक सय सात बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

राप्ती सोनारी गाउँपालिकामा एक सय ५०, कोहलपुर नगरपालिकामा ६०, बैजनाथ गाउँपालिकामा दुई सय ३५ र खजुरा गाउँपालिकामा ९१ गरी एक हजार पाँच सय ८८ बालबालिकामा कुपोषण रहेको पोषण फोकल पर्सन उपाध्यायले जानकारी दिए । सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगेको उनले उल्लेख गरे ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताए ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले डुडुवामा पछिल्लो समय कुपोषण भएका बालबालिका घट्दै गएको जानकारी दिँदै ती बालबालिका सङ्क्रमण मुक्त भएका उल्लेख गरे । –रासस 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट